सिराज खान
नेपालगन्ज, बैशाख १२ गते ।नेपालगन्जमा प्रहरीले शनिवार केही राउन्ड गोली प्रहार गरेर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी रमेश विष्टले नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ स्थित शान्तिनगरचोक नजिक तीन राउन्ड हवाइफायरिङ गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
उहाँले पक्राउ परेकाहरूको साथबाट ३७० ग्राम ब्राउनसुगरसमेत प्रहरीले बारमद गरेको बताउनुभयो । प्रहरी निरीक्षक विष्टका अनुसार हवाई फायरपछि पक्राउ गरेर नियन्त्रणमा लिएकामा नेपालगन्ज उपमहानगरपालिका २२ का ३५ वर्षीय नुरमोहम्मद किङ्गरिया, सोही स्थानका २८ वर्षीय दिनेश बासखोरी र २९ वर्षीय सरोश शाही रहेका छन् ।
धेरै दिनको प्रयासपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको जानकारी दिँदै उहाँले आइतबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने बताउनुभयो ।
निमित्त सूचना अधिकारी विष्टले भन्नुभयो,“हामीले धेरै दिनदेखि यी कारोबारीको पिछा गरिरहेका थियौँ र सुराकी पनि परिचालन गरेका थियौँ, शनिवार कारोबार गर्न लागेको समयमा पक्राउ गर्न सफल भयौँ ।”
जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेमा दैनिकजसो प्रहरीले लागुऔषधमा संलग्न भएका व्यक्ति र कारोबारीलाई पक्राउ गर्दै आएको छ ।
दुईदिन अघि मात्रै जिल्लाको खजुरा क्षेत्रबाट प्रहरीले २७५ ग्राम लागु औषध ब्राउनसुगरसहित एक जना ठूला कारोबारीलाई पक्राउ गरेको थियो ।
उनको साथबाट स्टिलका नक्कली पेस्तोल, सक्कली गोली, तीन वटा मोटरसाइकल, दुई वटा गाडी र ठुलो मात्रामा बैङ्कमा रकम रहेको चेकबुक प्रहरीले बरामद गरेको थियो ।