• ७ जेठ २०८१, सोमबार

बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारी : विनोद चौधरी

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरी । फाइल तस्बिर

काठमाडौं, असोज २८ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेसिने युवाहरूको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।

शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उहाँले आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरूको समस्या समाधानमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।

उद्योगपति चौधरीले अब योजना र भिजन भएका युवाहरू राजनीतिमा आउनुपर्ने धारणा व्यक्त गर्नुभयो । चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनका लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदा समेत युवाहरूको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताउनुभयो ।

युवाले खोजेको रोजगारी र नेपाल बनाउनका लागि प्रत्यक्ष निर्वाचनमा उठेको जानकारी उहाँले दिनुभयो । चौधरीले सबै चार्टर्ड एकाउण्टेन्ट्सहरुलाई भेटेर भोट माग्ने आकाङ्क्षा रहेपनि सम्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गर्नुभयो । 

चौधरीले आफूले चार्टर्ड अकाउण्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताउनुभयो ।

आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको उहाँको भनाइ छ । चौधरीले आफूले शक्ति केन्द्रमा शक्तिको भरपुर प्रयोग गरेको बताउनुभयो । चौधरीले आफूलाई धन सम्पत्तिको कुनै खाँचो नरहेको तर चौधरी जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहोर्‍याउनुभयो ।

उहाँले नेपालमा बहुमतको सरकार आएपनि विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासो गर्नुभयो । चौधरीले नेपालमा धेरै राजनीतिक परिवर्तन भएपनि देशको अवस्था नबदलिएको बताउनुभयो ।