• १४ वैशाख २०८१, शुक्रबार

दुर्लभ रेड पान्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण

blog

फुरुम्बु गाउँमा घरपालुवा कुकुरलाई रेबिजविरुद्धको रोप लगाइँदै ।

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा दुर्लभ रेड पान्डा (रातो हाब्रे) संरक्षण गर्न कुकुरको बन्ध्याकरण गरिएको छ । घर पालुवा तथा सामुदायिक (भुस्याहा) कुकुरको आक्रमणबाट रेड पान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण गरिएको हो ।

रेड पान्डाको संरक्षणमा क्रियाशील संस्था रेड पान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुरको बन्ध्याकरण अभियान चलाएको हो । रेड पान्डा पाइने क्षेत्र तथा वासस्थान रहेको नजिकका गाउँघरमा रहेका कुकुरको बन्ध्याकरण गरिएको हो । कुकुरको बन्ध्याकरणसँगै रेबिजविरुद्ध खोप, भिटामिन र जुकाको औषधिसमेत दिएको हिमाली संरक्षण मञ्चले जनाएको छ । 

कुकुरको आक्रमणका कारण दुर्लभ रेड पान्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि रेड पान्डा संरक्षण गर्ने उद्देश्य राखेर कुकुर नियन्त्रण गर्ने उपाय स्वरूप बन्ध्याकरण अभियान थालिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ । रेड पान्डा संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिएकाले स्थानीय तहसँग समन्वय गरेर बन्ध्याकरण अभियान सञ्चालन गर्दै आएको संयोजक राईले बताउनुभयो । 

रेड पान्डा पाइने र वासस्थान रहेको पाथीभरा क्षेत्र नजिकका बस्तीहरू फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा १३ वटा कुकुर बन्ध्याकरण गरिएको छ । त्यस्तै फुङ्लिङ नगरपालिका–११ फावा खोलामा २७ वटा कुकुर र पाँच वटा बिरालोको बन्ध्याकरण गरिएको बताइएको छ भने सोही सङ्ख्यालाई  रेबिजविरुद्ध खोप लगाइएको छ । 

मञ्चिकाअनुसार फुङ्लिङ नगपालिका–१० फुरुम्बु र काफ्ले पाटी, फेदीलगायत पाथीभरा क्षेत्रका बस्ती तथा बजारमा ११७ वटा कुकुर र दुई वटा बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन दिइएको छ । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गे र थेचम्बुमा ६४ वटा कुकुर र दुई वटा बिरालोलाई खोप र भिटामिन दिएको मञ्चले जनाएको छ । 

सिरिजङ्घा गाउँपालिकाको वडा नं. ३ सिकैँचा, वडा ७ खेबाङ र वडा ८ याम्फुदिन क्षेत्रमा १६५ वटा कुकुर र २३ वटा बिरालोलाई रेबिजविरुद्धको खोप लगाउनुका साथै जुकाको औषधि साथै भिटामिन खुवाएको मञ्चले जनाएको छ । उता मिक्वाखोला गाउँपालिकाको साँवा र पालुङ क्षेत्रमा २९ वटा कुकुर र पाँच वटा बिरालोलाई बिरालोलाई रेबिजविरुद्ध खोप तथा जुकाको औषधि र भिटामिन दिइएको छ । 

यसरी रेड पान्डा पाइने क्षेत्रका गाउँ बस्तीमा रहेका कुकुर तथा बिरालो नियन्त्रण गर्न सके दुर्लभ रेड पान्डाको संरक्षणमा सहयोग पुग्ने भएकाले बन्ध्याकरण र औषधि तथा भिटामिन खुवाउने अभियानको सुरुवात गरिएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताउनुभयो । बन्ध्याकरण गर्दा र भिटामिनले कुकुरको शरीर मोटाएर भद्दा भई सिकार गर्न नरुचाउने हुँदा यसले रेड पान्डा संरक्षणमा सहयोग पुग्ने मञ्चको विश्वास छ । 

ताप्लेजुङमा पाथीभरा क्षेत्र, तिम्बुङ पोखरी, पालुङको तोक्पेगोला लगायतका क्षेत्रमा गरी करिब १७० वटा बढी दुर्लभ रेड पान्डा रहेको हिमाली संरक्षण मञ्चले अनुमान गरेको छ । संरक्षणको अभाव नभएमा जिल्लामा रेड पान्डाको सङ्ख्या बढ्दै जाने मञ्चका कार्यक्रम संयोजक राई बताउनुहुन्छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।