• १९ कात्तिक २०८२, बुधबार

खेतमै कुहिन थाल्यो धान

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक १९ गते । धान काटेर पाँजा लगाएको खेतबाट पानी कटाउन नसक्दा किसानको धान खेतमै उम्रिन थालेको छ । 

खासगरी मोरङको उर्लाबारी–९ बोडरलाइनका किसानले खेतको पानी कटाउन नसक्दा धान खेतमै उम्रिएको हो । आकाश खुलेपछि दिन तातियो । तर खेतबाट पानी कटाउन सकिएन । जसले गर्दा खेतमै धान उम्रियो । गाउँघरमा कृषि मजदुर छैनन् । बल्ल बल्ल काटेको धान कुन्यु लगाउन नपाउँदै खेतमै सड्यो । बोर्डरलाइनका किसान डिकेन्द्र बस्नेतले भन्नुभयो, "खेतमा पानी जमेकोले धान उम्रियो । बस्नेत प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ लगायत उर्लाबारी-९ को बोर्डरलाइनका अधिकांश किसानको धान खेतमै कुहिएको छ ।"

उर्लाबारी–९ कि मालती मैया खड्काले भन्नुभयो, "काटेको धान मात्र होइन । नकाटेको धान पनि ढलेर सोत्तर भएको छ । खेतमै उम्रिन थालेको छ ।" खेतबाट अझै पानी नसुकेको उहाँले बताउनुभयो । 

यस्तै उर्लाबारी –५ को फोगो चौक उत्तरतर्फको खेतमा अझै पानी सुकेको छैन । दक्षिणतर्फको बस्ती अग्लो भागमा छ । त्यसैले पानीको निकास छैन । पानीमाथि धानका बाला तैरिएका थिए । अहिले उम्रिएर ब्याड जस्तो भएको छ ।

पानी कटाउने निकास भएको ठाउँमा र बलौटे माटो भएका खेतमा भने पानी सुकेर कम क्षति भएको छ । लेटाङ, मिक्लाजुङ, केराबारी,कानेपोखरी र बेलबारीको उत्तरी भागमा भने कम क्षति भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवका अनुसार मोरङमा काट्ने बेला भएको १५ प्रतिशत धान पूरै लडेको छ । यस्तै १० प्रतिशत आंशिक लडेको छ भने काटेको ५ प्रतिशत धान उम्रिएर बिग्रिएको छ । उहाँले बस्तीसँग जोडिएको खेतमा पानीको निकास नभएका जग्गामा र पानी कटाउन नसकिने जग्गामा बढी क्षति भएको जानकारी दिनुभयो ।