शशिधर पराजुली
विराटनगर, कात्तिक १९ गते । मोन्था चक्रवातका कारण यही कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार धान र तरकारी बालीमा यति ठुलो नोक्सानी भएको हो ।
निर्देशनालयका अनुसार प्रदेशको १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति हुँदा ५८ हजार २६७.२६ मेट्रिक टन धान र तरकारी नष्ट भएको छ ।
निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङले दिएको जानकारी अनुसार समग्रमा दुई अर्ब पाँच करोड ५४ लाख ३६ हजार ७९० रुपियाँ बराबरको क्षति भएको छ ।
तथ्याङ्क अनुसार झापा, मोरङ र सुनसरी जिल्लामा सबैभन्दा बढी क्षति भएको छ । झापामा चार हजार ३६४ हेक्टर क्षेत्रफलमा लगाइएको २१ हजार ८२० मेट्रिक टन धान नष्ट हुँदा करिब ७८ करोड ११ लाख ५६ हजार रुपियाँको नोक्सानी भएको छ ।
मोरङमा तीन हजार ४२१ हेक्टरको १६ हजार ४२०.८ मेट्रिक टन धानमा क्षति पुग्दा ५८ करोड ७८ लाख ६४ हजार रुपियाँ बराबरको क्षति हुने अनुमान गरिएको छ ।
सुनसरीमा दुई हजार ८५१ हेक्टरमा लगाइएको १२ हजार ६५८.४४ मेट्रिक टन धान नष्ट हुँदा ४५ करोड ३१ लाख ७२ हजार रुपियाँको क्षति भएको छ । यसका साथै सुनसरीमा दुई सय हेक्टरमा लगाएको तरकारी बाली नष्ट हुँदा थप चार करोड रुपियाँको नोक्सानी भएको छ ।
पहाडी जिल्लामा पनि वर्षाले धानबालीमा उल्लेख्य क्षति पु¥याएको छ । उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा दुई सय हेक्टर, ओखलढुङ्गामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र सङ्खुवासभामा १२५ हेक्टर धान बालीमा क्षति पुगेको निर्देशनालयले जनाएको छ । किसानले लगाएको धान बालीमा ठुलो क्षेत्रफलमा क्षति भए पनि किसानले बिमा नगरेका कारण क्षतिपूर्ति पाउने अवस्था नरहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार तराईका जिल्लामा काटेर सुकाउन राखिएको करिब २० प्रतिशत धान ढलेको र त्यसमध्ये २५ देखि ३० प्रतिशतसम्म क्षति भएको छ । त्यस्तै पहाडी जिल्लामा आठदेखि १० प्रतिशत धान ढलेकोमा करिब २५ प्रतिशत र हिमाली जिल्लामा पाँचदेखि छ प्रतिशत धान ढलेकोमा करिब २५ प्रतिशत क्षति भएको अनुमान गरिएको छ ।