• ११ मंसिर २०८१, मङ्गलबार

मान्म बजारका ४५ घरमुनि पहिरो

blog

मान्म बजार जमिन चिरा पारेर पहिरो बगेपछि त्रिपालले छोपिएको । तस्विर – प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, असोज २६ गते । कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारका ४० घरमुनिबाट पहिरो बगेको छ । गत बुधबारबाट लगातार परेको पानीले मान्म बजारका ४० भन्दा बढी घर उच्च जोखिममा छन् । खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीलगायतका दश घर पहिरोको उच्च जोखिममा छन् । 

पाँच तला पक्की घरको मुनिबाट पहिरो बगेर घरको जगसम्म पुगेको छ । पहिरो बगेपछि घर खाली गरिएका छन् भने घर पनि चर्किएका छन । नगरप्रमुख शाहीले आफ्नो घरको भन्दा पनि टाँसिएर रहेका अरु नागरिकको घरको चिन्ता आफूलाई भएको बताउनुभयो । आफ्नो घरको बीमा छ, केही सहज होला, तर अरु छिमेकीका घर पहिरोले एक दिन अवश्य लिने भएकाले स्थानान्तरणका लागि छलफल भइरहेको बताउनुभयो ।

मान्मको मध्य बजारमा रहेका नौ घर एक मिटरसम्म जमिनमुनि भासिएका छन् । 

यस्तै, मान्म बजारकै नावगैराका १८ देखि २० घर बिस्तारै तललित सरिरहेका छन् । कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले तल बगिरहेकाले सबै घर भत्किने निश्चित भएको बताउनुभयो । 

रेडियो नयाँ कर्णाली एफएम रहेको भवनसहित सितला शाही, दिपक शाहीलगायत चार घर पनि पहिरोको उच्च जोखिममा छन् । रेडियो नयाँ कर्णाली रहेको भवन पूरै चर्केको छ भने त्यसको कम्पाउण्ड बिस्तारै सरिरहेको छ । 

जिल्ला विपद व्यवस्थापन समितिले पनि मान्म बजार, रास्कोट नगरपालिका वडा नं १, ३ र ९ का बस्ती निकै जोखिममा रहेकाले अन्य ठाउँमा सार्ने विषयमा स्थानीय सरकारले समन्वय गर्नुपर्ने निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पनि कुनै बस्ती जोखिममा रहेको खण्डमा स्थानान्तरण गर्ने अधिकार दिएको छ ।  हालसम्म कालीकोटको नरहरीनाथ गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा एक बस्ती सारेको भए पनि अन्य स्थानीय तहले जोखिम बस्ती सारेको छैन ।