• ४ जेठ २०८१, शुक्रबार

नेरिस्काको अद्भुत क्षमता

blog

काठमाडौँ, असोज २६ गते । नेरिस्का स्थापित गायन, अभिनय, कथावाचन र कलामा अद्भुत क्षमताकी धनी हुनुहुन्छ। विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा छोटा चलचित्रको अभिनय गरिसक्नुभएकी नेरिस्का लिटल मोडलका रूपमा समेत परिचित भइसक्नुभएको छ। दुईवटा सौन्दर्य प्रतियोगिता ‘मिस लिटल आइडल–२०१८’ र ‘लिटल स्टार अफ दी इयर–२०१९’को उपाधि हात पारिसक्नुभएका उहाँलाई कुमारी नृत्य गर्न मन पर्छ। उहाँले विभिन्न कार्यक्रममा ३८ पटक यो नाच प्रस्तुत गरिसक्नुभएको छ।

काठमाडौँको लगनटोलमा जन्मिनुभएका नेरिस्का इङ्लिस प्रिप्यारोटरी स्कुल (ईपीएस)मा कक्षा ७ मा अध्ययन गर्नुहुन्छ। उहाँले ‘लिटल स्टार अफ दी इयर–२०१९’को शीर्ष उपाधिका साथै अलराउन्डर, बेस्ट फोटोजेनिक, बेस्ट आर्टिस्ट, ट्यालेन्टजस्ता चारवटा विधाको उपाधि पनि प्राप्त गर्नुभएको थियो। अध्ययनलाई नै पहिलो प्राथमिकतामा राख्नुहुने उहाँले यो सफलता त्यति सजिलै प्राप्त गर्नुभएको भने होइन। उहाँ थप्नुहुन्छ, “मैले पढाइलाई नै बढी महत्व दिएको छु।” उहाँ साथीहरूलाई पनि पढ्नुपर्छ भन्ने सल्लाह दिनुहुन्छ। 

पहिलो प्राथमिकता पढाइलाई दिएकाले चलचित्रबाट अभिनयका लागि प्रस्ताव आए पनि त्यसलाई स्वीकार गर्न नसकेको उहाँका बुवा अमित स्थापितले बताउनुभयो। “छोरीको इच्छा जे छ, हामी उनको साथमा छौँ,” उहाँले भन्नुभयो, “धेरै चलचित्रबाट प्रस्ताव आइरहेको छ तर पढाइलाई असर पर्ने भएकाले स्वीकार गरेका छैनौँ।” दुईदेखि पाँच दिनसम्मको अभिनय, विज्ञापन, छोटा चलचित्र तथा म्युजिक भिडियोमा मात्र छोरीले काम गरिरहेको उहाँले बताउनुभयो। छोरीको प्रगतिबाट खुसी हुनुभएकी आमा नमुना स्थापित भन्नुहुन्छ, “पढेर डाक्टर, इन्जिनियर नै बन्नुपर्छ भन्ने छैन। छोरीले भविष्यमा के बन्छु भन्छिन्, त्यसमा हामी पूर्ण समर्थन गर्छौं।” 

सानैदेखि विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिँदै आउनुभएकी नेरिस्काले कहिल्यै हार्नुभएको छैन। उहाँले आफ्नो स्कुलबाट प्रतिनिधित्व गर्दै चित्रकला प्रतियोगितामा समेत भाग लिइसक्नुभएको छ।