• १० वैशाख २०८२, बुधबार

विस्थापित बाढीपीडित भन्छन्, ‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’

blog

फाइल तस्बिर

खजुरा, असोज २५ गते । बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित हुनुहुन्छ । उहाँ बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहनुभएको छ ।

उहाँलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेंगु सङ्क्रमणको अर्को चिन्ताले पिरोलेको छ । “चिसो भुइँमा एउटा ओछ्याउन लगाउनुहुन्छ, अनि सुत्नुहुन्छ त्यसपछि लामखुट्टेले उहाँलाई सुत्नै दिँदैन”, रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ”, उहाँ भन्नुहुन्छ, “ लामखुट्टेले सुत्न दिँदैन ।”

अर्का बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ । यतिबेला उहाँ पनि एडिज एजिप्टाइ र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणको जोखिममा हुनुहुन्छ । उहाँले भन्नुभयो, “घरमा झुल थियो, बाढीले बगाइदिँदा ल्याउनै पाइनँ, अहिले लामखुट्टेका कारण हैरानी खेपेको छु ।” उहाँहरू मात्र होइन बाढीपीडित कमानसिंह ठकुरी, धनबहादुर तामाङ, कौशिला थापा र रञ्जिता थापासँगै बाढीका कारण विस्थापित भएकाहरू सबै जना डेंगुको जोखिममा पर्नुभएको छ ।

नालासँगै जोडिएको शोभाको घर हेर्न लायक छैन । यतिबेला उहाँको घर डुबिसकेको छ, “घरबाट केही सामान ल्याउन पाइएन”, उहाँले भन्नुभो, “यहाँ व्यवस्था पनि राम्रो छैन, बिहानको खानलाई मात्र चामल र तरकारी भएको जनाउँदै भन्नुभयो, “साँझलाई चामल, तरकारी छैन, बाढीपीडित अहिले समस्यामा परेका छन् ।”

यहाँ झुलसहित लामखुट्टे धपाउने धुप भए सहज हुने बाढीपीडित कौशिलाले बताउनुभयो । “झुलको व्यवस्था हुनुपर्छ”, उहाँले भन्नुभयो, “नत्र हामी सबै डेंगु सङ्क्रमणको सिकार हुन्छौँ ।” लगातार भइरहेको वर्षाका कारण विद्युत् अनियमित हुँदा थप समस्या झेल्नुपरेको उहाँले बताउनुभयो । बत्ती भएको भए त्यति धेरै लामखुट्टे लाग्ने थिएनन्”, उहाँले भन्नुभयो, “बत्ती पनि हुँदैन, आफ्नो झुल बाढीले बगाइसक्यो, अरू कसैले सहयोग गरेका छैनन् ।” बाढीपीडितहरू डेंगु सङ्क्रमणको जोखिममा परेको भन्दै उहाँले तत्काल झुलको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

यतिबेला आश्रय लिएको विद्यालय प्राङ्गणमा खाल्डाखुल्डी भई पानी जम्दा लामखुट्टे बढी देखिएको बाढीपिडितको भनाइ छ । वडा तथा पालिका सरकारले तत्काल डेंगु सङ्क्रमणबाट बचाउन झुल वितरण गर्नुपर्ने बाढीपीडितको भनाइ छ । अहिले यहाँ करिब ३०–४० घरपरिवार विस्थतपित भइ आश्रित छन् ।

ज्येष्ठ नागरिक  र गर्भवतीलाई समस्या
चिसोका कारण बाढीपीडित वृद्धवृद्धा र बालबालिका बिरामी हुन थालेका छन् । घरमा बाढी पसेपछि विद्यालयमा आश्रित वृद्धवृद्धा र बालबालिका बिरामी हुन थालेका हुन् । चिसो हुँदा वृद्धवृद्धा र बालबालिकालाई ज्वरोले सताउन थालेको छ । चिसोले ज्वरो आई बिरामी भएको कमानसिंह ठकुरीले बताउनुभयो ।

उहाँले भन्नभुयो, “चिसो भुइँमा सुत्नुपर्छ, बूढो पनि भइयो, शरीरले चिसो पचाउन सक्दैन त्यसैले पनि होला, ज्वरो आएर थलिएको छु ।” न्यानो बसाइँ नहुनु र खानपिनको समस्याका कारण आफू बिरामी भएको धनबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिर पानी रोकिएको छैन, स्वास्थ्योपचार गर्न कहाँ जानु ।”

साथै यहाँ रहेका सुत्केरी र गर्भवतीलाई  समस्या हुँदै आएको छ । यतिबेला चिसोबाट बच्नुपर्ने र पौष्टिक र झोलिलो खानेकुरा खानुपर्ने समयमा उनीहरू त्यसबाट वञ्चित भएका छन् । यसैबीच विस्थापित बाढीपीडितलाई स्वास्थ्यलगायतका समस्या देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखाले समस्याका बारेमा जानकारी लिने भएको छ । त्यहाँको समस्याबारे अध्ययन गरी स्वास्थ्योपचार गर्ने स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अश्रयस्थलमा बसेका बाढीपीडितलाई डेंगुको जोखिम बढेको छ भने अन्य स्वास्थ्य समस्या भएको जानकारी आएको छ, त्यसका लागि स्वास्थ्य टोलीमार्फत समस्या समाधान गर्नेछौँ ।”