• १९ कात्तिक २०८२, बुधबार

कुर्घा मालिकामा चिच्याएर वर माग्नेको घुइँचो

blog

चिच्याएर बर माग्ने कुर्घा मालिका मन्दिर । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), कात्तिक १९ गते । चिच्याएर वर माग्ने विशेषताले प्रसिद्ध मुसिकोट नगरपालिका-६ कुर्घाको कुर्घा मालिका मन्दिरमा चिच्याएर वर माग्नेकाे घुइँचो लागेको छ । तीन दिनसम्म चल्ने मेलामा स्थानीय उत्पादनहरुको बिक्री, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु हुने गर्दछन् । बैकुण्ठ चतुर्दशीका दिन मेला पनि सकिने र रातभर जाग्राम बसेर बिहानीपख चिच्याएर मालिका देवीसँग चिच्याएर वर माग्ने चलन छ ।

कुर्घा मालिका गुल्मीसहित पश्चिम बाग्लुङ, अर्घाखाँची, प्युठान र पाल्पाका नागरिकको धार्मिक आस्थाको केन्द्र हो । बिशेष गरेर कार्तिक शुक्ल चतुर्दशीका (बैकुण्ठ चतुर्दशी) दिन मेला लाग्ने गर्दछ । वर्षभर एकादशी, औंसी, सोह्र श्राद्ध, स्वस्थानी र साउनभर बाहेक नियमित पूजा हुने गरेको मालिका भगवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पहिले–पहिले कार्तिक शुक्ल चतुर्दशीका दिन मात्रै रातमा मेला हुने गर्दथ्यो । 

मालिकामा पहाडको ठुलो खोंचबाट पानी उम्रिएको छ । पानी बग्ने खोंचकै कुनामा मालिका देवी रहेको धार्मिक जनविश्वास भएका कारण वर माग्न पुग्ने दर्शनार्थीको निकै  ठुलो भिड हुने गरेको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका रमेश केसी पारिवारिक रुपमा मालिका मन्दिरमा आउनुभयो । मनले सोँचेको पूरा हुने धार्मिक विश्वासको कारण आफूहरु आएको केसीले बताउनुभयो । उहाँले अहिलेसम्म तीन पटक आएको बताउँदै बिस्तारै सडक र मन्दिर वरपर भएको विकासले खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिँडेरै पनि आइयो मन्दिरमा खुट्टा राख्ने ठाउँ हुन्थेन । बाटो राम्रो र मन्दिर पनि भएछ ।” 

विशेषगरी लाहुरे बन्न युवकहरु, सन्तान माग्नेहरु र रोगबाट मुक्तिका लागि वर माग्नेहरु मालिका पुग्छन् । बडिगाड गाउँपालिका–२ बाग्लुङ्गबाट मालिका आउनुभएकी शर्मिला थापाले सन्तानकै लागि वर माग्न आएको बताउनुभयो । 

भुवाचिदी बजारबाट मालिका पुग्न पहिले साँधुरो सडक थियो । मन्दिर परिसर अव्यस्थित भएकाले दर्शनार्थी सजिलो गरेर उभिने ठाउँ हुन्थेन् । स्थानीय तहपछि मालिका संरक्षण र विकासको काम भएको छ । मुसिकोट नगरपालिकाले गुरुयोजना मार्फत भुवाचिदी–मालिका–स्वाँरा सडकको स्तरवृद्धि, मन्दिर नजिक पार्किङ स्थल, घेराबार, वाल र खेल मैदान निर्माणको काम गरिएको मुसिकोट नगरपालिका–६ का वडाध्यक्ष खडकबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले मालिकालाई सालिमेसँग जोडेर अगाडि बढाउने गरेर काम भइरहेको बताउनुभयो । 

स्थानीयका अनुसार मालिका मन्दिर द्वापर युगको अन्त्यतिर स्थापना भएको हो । मालिका मन्दिरमा मालिका भगवती प्रकट भएर माल्याश्री नामका ऋषिलाई वरदान दिएपछि मालिकाको उत्पति भएको विश्वास छ । मालिकाका बारेमा कतिपय पुराणहरुमा चर्चा गरिए अनुसार अहिले मन्दिर भएको ठाउँमा सुन्दर ताल र माल्यश्री ऋषिको आश्रम थियो । आश्रममा अरु साधुसन्त र अध्ययन गर्ने विद्यार्थी पनि थिए । दैनिक पूजा पाठ र घृतधारा तथा चोरु हुन्थ्यो । त्यो स्थानमा अचानक खडेरी ठुलो परेर पानीका मुहानहरु सुकेपछि ताल र खोलाहरु वन जङ्गल मासियो । वन्यजन्तु लोप भएर ठुलो हाहाकार मच्चिएपछि स्थानीयले ऋषिसँग बिन्ती बिसाउन पुगे । 

ऋषिले मालिका भगवतीको आराधना गरेर देवी प्रसन्न भएपछि ऋषिले पानी मागेको र एक्कासि पहरोबाट पानी निस्किएकाले सोही दिनदेखि ऋषिले मन्दिर स्थापना गरेर मालिका भगवती देवीको पूजा गर्न सुरु गरेको किवदन्ती रहेको मालिकाका जानकार दधिराम शर्मा पंगेनीले बताउनुभयो । पहाडको भित्र मालिका भगवती देवी कान नसुन्ने अवस्थामा भएकाले चिच्याएर वर माग्ने धार्मिक जनविश्वास छ । 

आफूले मालिका जान्न थालेदेखि नै चिच्याएर वर माग्ने गरिएको पंगेनीले बताउनुभयो । उनका अनुसार त्यही चिच्याएर वर माग्ने नामले प्रसिद्ध मालिका मन्दिरमा बैकुण्ठ चतुर्दशीका दिन रातभर जाग्रम बस्ने, भजनकीर्तन गर्ने, सुनिमाया, यानीमाया र सालैजो गाउने प्रचलन छ । मालिका मेलाको अवसरमा मुसिकोट नगरपालिकाले पालिकाभर सार्वजनिक बिदा दिएको छ ।