• १६ जेठ २०८१, बुधबार

चौबीस सय पर्यटक अलपत्र

blog

सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु, असोज २५ गते । पर्यटकीय सिजनको सुरुवातमै मौसम प्रतिकूल हुँदा खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र परेका छन् । कोरोना कहरले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा फेरि मौसमले चुनौती दिएको हो । 

चार दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र बनेको लुक्लाका लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । पर्यटक तेन्जिङ हिलारी विमानस्थल र गोरक्सेप क्षेत्रमा पर्यटक मौसम सुधारको पखाईमा बसिरहेका बताइएको छ । भिजिबिलिटी कम भएकाले उडान ठप्प रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज द्वारिकालाल अछामीले बताउनुभयो । उहाँका अनुसार रामेछापबाट लुक्ला आउनका लागि करिब दुई हजार पर्यटक पर्खाइमा रहेका छन् । उडान नहुँदा अलपत्र यात्रुका लागि रामेछापमा अस्थायी बासको प्रबन्ध गराइएको उहाँले जानकारी दिनुभयो । 

अधिकांश विदेशी पर्यटकलाई यतिखेर रामेछापदेखि मूलकोटका होटल, त्रिपालमा बसोबासको व्यवस्था गरिएको तारा एयरका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयो ।

दैनिक दुईवटा ट्विनअटर हवाईजहाजमार्फत १५ वटा उडान गर्दै आएको कम्पनीले चार दिनयता कुनै उडान गर्न नसकेको उहाँले बताउनुभयो । आइतबार दिउँसोसम्म रामेछाप–लुक्ला तीनवटा हेलिकोप्टरले उडान गरेको लुक्ला विमानस्थलले जनाएको छ । अष्टमीका दिनसम्म तारा, सीता र समिट एयरका रामेछाप–लुक्ला दैनिक ३० वटा नियमित तथा ननसेड्युल उडान हुँदै आएको थियो । तीन दिनदेखि मौसम बिग्रिएका कारण फिक्स विङतर्फका तीनवटा कम्पनीको जहाज उड्न नसकेको समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताउनुभयो ।

बाक्लो कुहिरोका कारण भिजिबिलिटी अत्यन्त न्यून रहेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको हो । विमानस्थल वरपरको भिजिबिलिटी ५० मिटरभन्दा तल रहेको छ । जसलाई उडान क्षेत्रमा निल मानिन्छ । सिजनको सुरुमा मौसमले साथ नदिँदा समस्या परेकोे व्यवसायीले बताएका छन् ।