• १२ साउन २०८१, शनिबार

शताब्दी पुरुष सत्यमोहन जोशी आइसियुमा

blog

ललितपुर, असोज २४ गते । संस्कृतिविद् एवम् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आइसियुमा सारिएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उहाँलाई आइसियुमा राखेर उपचार थालिएको जानकारी दिएको हो ।

प्रतिष्ठानमा उपचाररत १०३ वर्षीय जोशीलाई गत असोज २३ गतेदेखि छातीमा निमोनिया सङ्क्रमण भएकोले यान्टिबायोटिक सुरु गरिएको हो । 

यसबाहेक जोशीको मुटुको चाल सम्बन्धी समस्यासमेत देखा परेकोले यसको नियन्त्रणका लागि आइसियुमा राखी उपचार गरिएको जोशीका सहयोगी तेजकुमार महर्जनले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार जोशी अस्पताल भर्ना भएपछिको केही दिनसम्म स्वास्थ्य अवस्था सामान्य भएपनि केही दिनदेखि खानामा अरुचि बढ्दै गएको हो ।

शताब्दी पुरुष जोशीलाई शनिबार नै आइसियुमा राखी उपचार सुरु गरिएको महर्जनले जानकारी दिनुभयो । जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको महर्जनले बताउनुभयो ।