• २७ वैशाख २०८१, बिहिबार

अवरोध हटाई सडक सञ्चालन

blog

काठमाडौँ, असोज २४ गते। केही दिनयता परेको अविरल वर्षाका कारण मुलुकभरि बाढीपहिरोले अवरुद्ध भएका राजमार्ग र सडकको १५५ स्थानको अवरुद्ध हटाई दुवैतर्फ पुनः सञ्चालनमा ल्याइएको छ। 

सडक विभागका अनुसार बाढीपहिरोका कारण २१० ठाउँमा राजमार्ग र सडक अवरुद्ध भएको थियो। विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार अवरुद्ध भएका ४० स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ भने बाँकी स्थानमा अवरुद्ध हटाउने काम भइरहेको छ। उहाँले २७ वटा राजमार्ग र सडक अवरुद्ध भएकोमा १७ वटाको अवरुद्ध हटाई सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले अहिलेको बाढीपहिरोले पुलमा कुनै पनि समस्या नआएको बताउनुभयो।

उहाँका अनुसार साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे–बाजुरा खण्ड, जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग)को हर्रे, पैसाठी, सेतोभीर, खड्कावादा, दरबारे, बोटखोला, रामघाट, किट्टु खण्डमा, तानसेन–रिडी–कोरला राजमार्गको गलेश्वर, बैंसेरी, गुइँठेभीर, रुप्से झरना क्षेत्र, डुम्रे–बेँसीसहर–चामे सडकको अर्खले, घोप्टे, रामबजार, खोत्रो, धारापानी तिमाङ्ग खण्डमा यातायात अवरुद्ध भएको छ।

त्यसैगरी अमिलिया–तुल्सीपुर–शीतलपाटी–थारमारे–मुसीकोट (राप्ती राजमार्ग)को पश्चिम रुकुम खण्ड, सुर्खेत–दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना राजमार्गको भुवलपाटा, वडिक, जुम्ला खण्ड, सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पीपलकोट खुलालु–मान्मा–नाग्मा–जुम्ला सडकको रारालिही, गडगढिनी, जुम्ला खण्ड, खोड्पे–चैनपुर राजमार्गको लिम, स्याडी, झनाना, बाहुलिगाड खण्डमा यातायात अवरुद्ध भएको छ।

पुष्पलाल (मध्य पहाडी) राजमार्गको घट्टे गाड, सुर्नाया पुल, पाटन (बैतडी) खण्ड, धनगढी–सहजपुर–बुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिङ्कर राजमार्गको धर्घमर 

(बैतडी खण्ड) र नम्तद तथा पनेबाझ (दार्चुला खण्ड)मा सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो। सडक विभागले सधैँ पहिरो गइरहने स्थान पहिचान गरी सो ठाउँमा पहिरोको स्थायी समाधानका लागि अध्ययन कार्य भइरहेको जनाएको छ। 

विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले ‘जियो इन्भारमेन्टल एन्ड सोसल युनिट (जेसु) र ‘रिसर्च एन्ड डेभलपमेन्ट’ (आर एन्ड डी) शाखा खडा गरी मुलुकभरिका राजमार्ग तथा सडकमा पहिरो जाने ठाउँको पहिचान तथा अध्ययन गरी स्थायी समाधान कसरी गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको जानकारी दिनुभयो। उहाँले अबको पाँच वर्षभित्र मुलुकको राजमार्ग र सडकमा सम्भावित पहिरो जाने ठाउँको स्थायी समाधान हुने गरी कामभइरहेको बताउनुभयो।