• २० फागुन २०८२, बुधबार

बर्दियामा चितुवाको आक्रमणबाट बालकको मृत्यु, अन्य तीन जना घाइते

blog

सांकेतिक तस्बिर

यज्ञप्रसाद सापकोटा

बर्दिया, फागुन २० गते । बर्दियामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । राजापुर नगरपालिका–१०, कालाबन्जरका शिशिर थारूका ६ वर्षीय छोरा आदित्य चौधरीको आँगनमा खेलिरहेको समयमा चितुवाले आक्रमण गर्दा मृत्यु भएको हो ।

आँगनमा खेलिरहेको अवस्थामा चौधरीलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि उपचारका लागि बर्दिया अस्पताल लगिएको थियो । अस्पताल लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताउनुभयो । बालकको शव अहिले बर्दिया अस्पतालमा राखिएको छ ।

बालकलाई आक्रमण गर्ने चितुवा धपाउने क्रममा अन्य तीन जना स्थानीयलाई समेत चितुवाले आक्रमण गरी घाइते बनाएको छ । घाइते हुनेमा राजापुर नगरपालिका–१०, कालाबन्जरका ४१ वर्षीय कृतिमान थारू, सोही उमेरका धनीराम थारू र ३८ वर्षीय श्यामलाल थारू रहेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य छ भने श्यामलालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उहाँहरूलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

बर्दियामा वन्यजन्तुको आक्रमणमा परी चालू आर्थिक वर्षमा १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । मृत्यु हुनेमध्ये नौ जना चितुवाको आक्रमणमा परेका हुन् ।