• २९ चैत २०८२, आइतबार

एक हप्तामा १६३ जनाले लिए नयाँ नागरिकता

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, चैत २९ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १६३ जनाले नयाँ नागरिकता लिएका छन्।

गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत नागरिकता पाँचसहित १६३ जनाले नयाँ नागरिकता लिनुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।

उहाँका अनुसार १४० जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ। यस जिल्लामा यो साता प्रतिलिपिभन्दा नयाँ नागरिकता लिने बढी देखिएका छन्।

एक हप्तामा नाबालक परिचयपत्र १६ जनाको गराइएको छ। राहदानी आवेदन सङ्कलन १६४ र राहदानी वितरण १४७ जनाको गरिएको छ।

राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३६९, राष्ट्रिय परिचयपत्र वितरण २४३, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३४ जनाको गरिएको छ।यो साता एक दुई संस्था नवीकरण गरिएको छ।

हातहतियार नवीकरण र नामसारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो। यस समयावधिमा प्रशासन कार्यालयले आठ लाख ३३ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको छ।

जसमध्ये राहदानीबाट आठ लाख १५ हजार रुपियाँ, संस्था नवीकरणबाट एक हजार ५०० रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट १७ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ।

प्रशासनले विगतदेखि नै एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक गर्दै आएको बताइएको छ।