• २९ चैत २०८२, आइतबार

प्रदेश अस्पताल दमौलीमा आइतबार पनि ओपिडी सेवा सुरु

blog

प्रदेश अस्पताल दमौलीमा उपचारको लागि पालो कुर्दै गरेका बिरामी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत २९ गते । प्रदेश अस्पताल दमौलीले स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले आज आइतबारदेखि नै ओपिडी (बहिरङ्ग) सेवा सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अबदेखि आइतबार पनि अस्पतालको नियमित सेवा सुचारु भएको छ ।

अस्पतालका प्रमुख डा. पर्वत बरालका अनुसार मन्त्रालयको पछिल्लो प्रेस विज्ञप्ति र सार्वजनिक बिदाको दिनसमेत अत्यावश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिने नेपाल सरकारको निर्णय कार्यान्वयन गर्दै आज आइतबार बिहानैदेखि सम्पूर्ण विभागका चिकित्सक तथा कर्मचारीहरू सेवामा खटिएका छन् । 

“बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै कुनै पनि दिन सेवा अवरुद्ध नहोस् भन्ने हाम्रो प्रतिबद्धता हो, सोही अनुसार आज आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन भइरहेको छ,” डा. बरालले जानकारी दिनुभयो ।

अस्पताल प्रशासनका अनुसार आज आइतबार बिहानैदेखि ओपिडीमा बिरामीहरूको चाप देखिएको छ भने चिकित्सक र स्वास्थ्यकर्मीहरूले नियमित रूपमा सेवा दिइरहेका छन् । ओपिडी सेवा सुरु भएपछि विशेषगरी टाढा–दराजबाट उपचारका लागि आउने सेवाग्राही, आकस्मिक अवस्थाका बिरामी र नियमित स्वास्थ्य जाँच गराउनुपर्ने बिरामीलाई ठूलो राहत मिलेको छ । 

अस्पतालले बिरामीहरूलाई आज ९आइतबार० र अन्य दिनमा झैँ नियमित रूपमा अस्पतालमा उपस्थित भई स्वास्थ्य सेवा लिन आग्रह गरेको छ ।