• २९ चैत २०८२, आइतबार

संविधान लेखनको अनुभव अब कानुन निर्माणमा

blog

राधा लुइटेल

फिदिम, चैत २९ गते ।  पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, (साबिक उम्लाबुङ) मा २०२० सालमा जन्मिनुभएको हो भीष्मराज आङदेम्बे । उहाँ नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्यमा चयन हुनुभएको छ । झन्डै चार दशकभन्दा बढी लामो राजनीतिक अनुभव र संविधान निर्माण प्रक्रियाको अभ्यास बोकेर उहाँ सङ्घीय संसद्मा प्रवेश गर्नुभएको हो । राजनीतिक पृष्ठभूमि रहेको परिवारमा जन्मिनुभएका आङदेम्बेको राजनीतिक यात्राको सुरुवात २०३६ सालको जनमत सङ्ग्रहबाट भएको हो । त्यसबेला बहुदलीय व्यवस्थाको पक्षमा उभिनुभएका उहाँ पञ्चायती व्यवस्थाविरुद्धका आन्दोलनमा सक्रिय रहनुभएको थियो । उहाँका अनुसार त्यही सङ्घर्षले आफ्नो राजनीतिक यात्राको आधार तयार पारेको हो ।

आङदेम्बेले २०४२ सालमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को सदस्यता लिएसँगै औपचारिक राजनीतिक जीवन सुरु गर्नुभयो । विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको यात्रा क्रमशः नेतृत्व तहसम्म पुगेको देखिन्छ । २०४६ सालको जनआन्दोलनमा अग्रपङ्क्तिमा रहेर सक्रिय भूमिका निर्वाह गर्नुभएका उहाँ आन्दोलनका क्रममा पक्राउ  पर्नुभयो । बहुदलीय लोकतन्त्र पुनस्र्थापनाका लागि भएको उक्त आन्दोलनले उहाँलाई युवा नेताका रूपमा स्थापित गर्न मद्दत गरेको राजनीतिक वृत्तमा उल्लेख गरिन्छ । २०४६ देखि २०५२ सालसम्म नेविसङ्घको केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित हुँदै उहाँले सङ्गठन विस्तार, कार्यकर्ता परिचालन तथा लोकतान्त्रिक मूल्य र अभ्यासको प्रवर्धनमा भूमिका निर्वाह गर्नुभयो ।

विद्यार्थी राजनीतिबाट युवा राजनीतिमा प्रवेश गर्दै उहाँ २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बन्नुभयो । यस जिम्मेवारीले उहाँलाई नेपाली कांग्रेसभित्र युवापुस्ताका प्रभावशाली नेतामध्ये एकका रूपमा स्थापित ग¥यो ।

२०६२/६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा पनि उहाँ सक्रिय रहनुभयो । राजतन्त्रविरुद्धको आन्दोलनमा सडक सङ्घर्षमा सहभागी हुँदा उहाँ पुनः पक्राउ पर्नुभएको थियो । आङदेम्बेको संसदीय यात्राको सुरुवात २०७० सालको दोस्रो संविधान सभा निर्वाचनबाट भयो । पाँचथर क्षेत्र नं. २ बाट संविधान सभा सदस्यमा निर्वाचित भएपछि उहाँले संविधान निर्माण प्रक्रियामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्नुभयो ।

संविधान सभा अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हकहित समितिको सभापतिका रूपमा उहाँले आर्थिक नीति, व्यापार व्यवस्थापन तथा उपभोक्ता अधिकारसम्बन्धी विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यसअघि २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा पाँचथर क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएका उहाँ एमालेका डम्बरसिंह सम्बाहाम्फेसँग पराजित हुनुभएको थियो ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँले पुनः पाँचथरबाट प्रत्यक्ष उम्मेदवारी दिनुभएको थियो तर त्यसबेला नेकपाका वसन्तकुमार नेम्वाङसँग पराजित हुनुभयो । २०७९ सालको निर्वाचनमा पनि उहाँ प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिनुभयो तर नेकपा एमालेका वसन्तकुमार नेम्वाङसँग ४६ मतको झिनो अन्तरले पराजित हुनुभयो ।

यसबिच उहाँको राजनीतिक सक्रियता भने निरन्तर रह्यो । २०७७ सालमा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति संयोजकको जिम्मेवारी समाल्दै उहाँले पार्टीभित्र अनुशासन कायम गर्ने, आन्तरिक विवाद समाधान गर्ने तथा सङ्गठनलाई सुदृढ बनाउने काममा भूमिका खेल्नुभयो । २०७८ सालमा सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट उहाँ आदिवासी जनजातितर्फ केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित हुनुभयो । यससँगै उहाँ पार्टीको शीर्ष नेतृत्व तहमा पुग्नुभएको हो ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनपछि नेपाली कांग्रेसले उहाँलाई आदिवासी जनजाति कोटाबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्यको जिम्मेवारी दिएको हो । जिल्लावासीले आङदेम्बेको राजनीतिक यात्रालाई आन्दोलन, सङ्गठन निर्माण र नेतृत्व विकासको निरन्तर प्रक्रियाका रूपमा लिने गरेका छन् । विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको यात्रा अहिले राष्ट्रिय नीति तथा कानुन निर्माण हुने सङ्घीय संसद्सम्म पुगेको छ ।

सङ्घीय संसद्मा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने भएकाले आङदेम्बेले सरकारलाई कानुन अनुसार सञ्चालन गराउन, लोकतान्त्रिक मूल्य सुदृढ गर्न तथा नागरिकमैत्री कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा जिल्लाका नागरिकले गरेका छन् ।