बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन २० गते । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४, हीरापानी नजिक बुधबार बस र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक गोलन्जोर गाँउपालिका–२, बितिजोर भन्ज्याङ् घर भई हाल कमलामाई नगरपालिका–६, धुराबजार निवासी ३५ वर्षीय चन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार काठमाडौँबाट मरिणतर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र विपरीत दिशा सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक गम्भिर घाइते भएका थिए । तत्काल निजलाई उपचारका लागि सिन्धुली अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
ठक्कर दिने बस र सो बसका चालक हरिहरपुरगढी गाउँपालिका–५ निवासी ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।