• २० फागुन २०८२, बुधबार

बाँकेमा मतदान र मतगणनाको सबै तयारी पूरा

blog

मतदानका लागि तयारी अवस्थामा रहेको नेपालगन्ज ४ को मतदान केन्द्र । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, फागुन २० गते । विहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले जिल्लाका सबै मतदान केन्द्रमा मतदान र तीनवटा मतगणनास्थलमा मतगणनाको सबै तयारी पूरा

भएको बताउनुभयो । 

गोरखापत्रसँग कुरा गर्दै उहाँले जिल्लाका ४०३ वटै मतदान केन्द्रको निर्माण कार्य तथा तीनवटा मतगणनास्थलको निर्माण कार्य पुरा गरिएको जनाउँदै अब बिहिबार विहान मतदाताले आएर मतदान सुरु गर्न मात्र बाँकी रहेको बताउनुभयो । 

बुधवार दिनभरि लगाएर मतदान केन्द्रहरुको व्यवस्थापन गरिएको जनाउँदै निर्वाचन कार्यालयका प्रमुख शाहीले मतदानकेन्द्र व्यवस्थापन, बुथ निर्माण तथा आवश्यक संरचना तयार पार्ने काम सम्पन्न भएको बताउनुभयो । 

सोही प्रकारले मतदानपछि हुने मतगणनाका लागि क्षेत्र नम्बर १ को राप्ती सोनारी गाउँपालिकाको कार्यालय अगैया, क्षेत्र नम्बर २ को नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को कपास विकास समितिको कार्यालयमा तारजाली तथा सिसीटिभि क्यामेरा जडान गरेर तयार पारिएको प्रमुख शाहीले बताउनुभयो । 

यसअघि बुधबार बाँकेका मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहाल, सहायक निर्वाचन अधिकृत लाल बहादुर कार्की लगायतको टोलीले विभिन्न मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनपछि मुख्य निर्वाचन अधिकृत दाहालले जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत रहेको उल्लेख गर्दै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने भएकोले सबै मतदाताहरूलाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गर्नुभयो ।

जिल्लामा तीन निर्वाचन क्षेत्र अन्तर्गत १३९ मतदानस्थल र ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ । बाँकेमा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन् । जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन् ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन जिल्ला सुरक्षा समितिले पनि बुधवार दिनभरि जिल्लाका विभिन्न मतदान केन्द्रहरुको अनुगमन निरिक्षण गरेको थियो । 

विहिबार विहान ७ बजेदेखि सुरु हुने मतदानका लागि समयमै मतदानस्थलमा पुग्न जिल्ला प्रशासन कार्यालय बाँकेले मतदातालाई अनुरोध गरेको छ ।