जयकृष्ण यादव
इनरुवा, फागुन २० गते । सुनसरीको विभिन्न निर्वाचन क्षेत्रको सबै मतदान केन्द्रहरु निर्माण भएको छ । दुई दिनअघि मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले पहिलो चरणमा दलका प्रतिनिधिहरुसँग छलफल गरेकोमा बुधबार मध्यानसम्ममा सबै मतदान केन्द्रहरु निर्माण सम्पन्न गरेको हो ।
महिला र पुरुष तथा गर्भवती, ज्येष्ठ नागरिक, अशक्त अपाङ्गता भएकालाई गरी तीन लाइनको लागि मतदान केन्द्र निर्माण सम्पन्न भएको छ । जिल्लाको दुई उपमहानगरपालिका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकाका १२४ वटामा गरी कुल १६७ मतदानस्थलमा ६२४ मतदान केन्द्रका लागि मतपत्र र मतपेटीकासहितका ५१ प्रकारका निर्वाचन सामग्री र कर्मचारीहरु पुगेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ स्थानीय तह रहेको सुनसरीमा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रोलिङ्गी गरी कुल पाँच लाख ८० हजार ९४५ मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलका अनुसार सबैभन्दा बढी मतदाता निर्वाचन क्षेत्र नं. २ मा एक लाख ५६ हजार ९९० रहेका छन् भने सबैभन्दा कम मतदाता रहेको क्षेत्रमा एक लाख ३४ हजार ३०२ जना कायम भएका छन् ।
यसैबिच निर्वाचनमा मतदान गर्न मतदाताहरु प्रतिक्षामा रहेका छन् । पहिलो पटक मतदान गर्ने नयाँ मतदातादेखि पुराना मतदाता समेत मतदान गर्नका लागि मतदाताहरु व्यग्र प्रतिक्षामा रहेको पर्यवेक्षक तथा अधिवक्ता सुकदेव चौधरीले बताउनुभयो ।
इनरुवा नगरपालिका ९ बबियाका सुरज यादवले पहिलो पटक मतदान गर्न पाउने भएकाले उत्साहित भएर मतदान गर्नका लागि व्यग्र प्रतिक्षामा रहेको बताउनुभयो । इनरुवा २ की मनिषा शर्मा पनि पहिलो पटक मतदान गर्न तयारीमा रहेको बताउनुभएको छ ।
चार महिनाअघि मतदाता नामावलीमा नाम समावेश भएको र पहिलो पटक मतदान गर्नका लागि व्यग्र प्रतिक्षामा रहेको प्रतिक्रिया दिनुभयो । निर्वाचनपछि सुशासन, विकास र समृद्धि अनि युवा स्वरोजगार सिर्जना हुने अपेक्षासहित मतदान गर्न आतुर रहेको शर्माको कथन छ ।