• १२ साउन २०८१, शनिबार

दशैंमा दक्षिणा दिने चलन

मान सम्मान र शिष्टाचारका लागि हो, विकृतिका लागि होइन

blog

काठमाडौं, असोज २१ गते । दशैं, दशहरा, विजयादशमी नवरात्र आयुध–पूजा सबैको एउटै अर्थ लाग्ने नेपालीको राष्ट्रिय चाड हो । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन बिहान दशमीका दिन आफूभन्दा ठूला मान्यजनको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म (प्रसाद ग्रहणका लागि) मनाउने गरिन्छ ।  

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । नेपाली हिन्दू पात्रोअनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएकाले यसलाई दशैं वा विजया दशमीका नामले चिनिन्छ ।

सुख, शान्ति र समृद्धिको कामना र आशीर्वाद स्वरुप दिइएको दक्षिणामा लक्ष्मीको बास रहने जनविश्वास  छ । 

दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ । यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भए तापनि पहिलो ९ दिन लाई नवरात्री र दशौं दिनलाई दशमी वा दशैं भनिन्छ्र । यो तीथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरु हुन् ।

दशैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धन दक्षिणा हो । विजयदशमीको दिन आफ्नो गच्छेअनुसार मान्यजनबाट टीका लगाइसकेपछि प्रसादको रुपमा दक्षिणा लिने र दिने गरिन्छ । सुख, शान्ति र समृद्धिको कामना र आशीर्वाद स्वरुप दिइएको दक्षिणामा लक्ष्मीको बास रहने जनविश्वास छ । 

मानसम्मानको रुपमा दक्षिणा

संस्कृतिविद् जगमान गुरुङका अनुसार आजभोलि दशैंमा दक्षिणा धेरै लिने र दिने चलन विकृति बनेको छ । समुदाय र संस्कृतिअनुसार फरक फरक पनि हुनेगर्छ । 

गुरुङ समुदायमा दशैंमा टीका लगाउन आफ्न्तको घर जाँदा रक्सी वा भेडाबाख्राको टाउको र साप्रो लिएर जाने चलन रहेको उहाँको भनाइ छ । यसरी सौगातअनुसार ज्वाँइ छोरी, भान्जाभान्जीलाई दक्षिणा दिने चलन पुरानो भएको उहाँले बताउनुभयो । “भन्नाले सौगात ठूलो भए ठूलै दक्षिणा पाइन्छ” उहाँले भन्नुभयो । 

आजभोलि दक्षिणाको लागि मात्रै टीका भन्ने मान्यता बढेको छ । दक्षिणा धेरै थोरै सबै जनाले आफ्नो आयस्रोतअनुसार दिने हो । यो संस्कृतिमाथिको विकृति हो ।

तर ब्राह्मण र क्षेत्री समुदायमा टीका थाप्न जाँदा भेटी चढाउने चलन छ । भेटी अर्थात् भेटघाट हुँदा रकम चढाउने कार्य हो । जसरी देवीदेवताको पूजा गर्दा भेटी चढाइन्छ त्यसैगरी दशैं मान्यजनको हातबाट टीका जमरा थाप्दा आफूले भेटी चढाउनुपर्छ । 

यी समुदायमा ठूलोले टीका मात्रै लागाउने र सानाले दक्षिणा दिने चलन धेरै पुरानो रहेको गुरुङको भनाइ छ । “पहिले दशैंमा दक्षिणा दिनु भनेकै ठूलो मान्छेको आयस्रोतसँग सम्बन्धित हुन्थ्यो । सानो मान्छेको आयस्रोत गर्ने आधार भएको कारण आयस्रोत भएका ठूला मान्छेले सानोलाई दक्षिणा दिने चलन चलाइएको हो,” गुरुङले भन्नुभयो, “सानोले ठूलालाई मान्ने र ठूलाले सानालाई माया गरेर दक्षिणा दिने चलन सुरु भएको पाइन्छ ।” 

उहाँका अनुसार नेपाल संस्कृतिमा दक्षिणा दिने र लिने चलन हरेक पूजापाठ तथा श्राद्धमा हुन्छ । “आजभोलि दक्षिणाको लागि मात्रै टीका भन्ने मान्यता बढेको छ । दक्षिणा धेरै थोरै सबै जनाले आफ्नो आयस्रोतअनुसार दिने हो । यो संस्कृतिमाथिको विकृति हो” उहाँले भन्नुभयो । 

यसबाहेक उहाँले थप्नुभयो, “राष्ट्र गरिब छ भन्छन् तर हामी नेपाली जनता धेरै धनी भएको देखिन्छ । जुन हरेक चाडबाडमा झल्किने गरेको छ । सबै जनाले संस्कृति मनाउने र जोगाउने वातावरणको सिर्जना गरिनुपर्छ ।” 

दक्षिणा बालबच्चालाई मात्र

संस्कृतिविद् ओम धौबडेल भन्नुहुन्छ, “दशैंमा टीका लगाएपछि दक्षिणा लिनेदिने चलन अहिलेको परिवेशअनुसार अमिल्दो देखिन्छ । जसको हातबाट हामी टीका लगाएर आशीर्वाद लिन्छौं, उहाँहरुलाई हात खाली नहोस् भनेर आफूले दक्षिणा वा सगुन दिने हो ।“ 

दशैंमा दक्षिणा दिने चलन बालबच्चाहरुका लागि मात्र भएको उहाँको भनाइ छ । उनीहरुलाई रमाइलो र खर्चको माध्यम बनाइदिएको उहाँले बताउनुभयो । तर पछिल्लो समय ठूलाबडालाई पनि दक्षिणा दिने चलन बढ्दो रहेको जुन परम्परा नै बनिसकेको उहाँ बताउनुहुन्छ । 

हुने खानेले अहिले ‘ई बैंकिङ’ बाट पनि दक्षिणा दिने चलन बनाइसकेका छन् । यो संस्कृतिमा नकारात्मक असर पार्ने काम हो ।

उहाँ भन्नुहुन्छ, “हुने खानेले अहिले ‘ई बैंकिङ’ बाट पनि दक्षिणा दिने चलन बनाइसकेका छन् । यो संस्कृतिमा नकारात्मक असर पार्ने काम हो । संस्कृतिमा विकृति भित्रिएको देखिन्छ ।” 

दशै नेपालीको महान चाड हो । सबै नेपालीको आर्थिक अवस्था अनुसार दक्षिणा लिने र दिने संस्कृतिको विकास हुनुर्छ उहाँले भन्नुभयो । 

टीका लगाएर दक्षिणा दिने चलन नेपाली संस्कृतिको शिष्टाचार हो । पछिल्लो दिनमा धेरै दक्षिणा दिने चलनले विकृति नै निम्त्याएको उहाँको भनाइ छ ।