• २५ वैशाख २०८१, मङ्गलबार

असम्बन्धितले अल्ट्रासाउन्ड गरे कारबाही : काउन्सिल

blog

काठमाडौँ, असोज १५ गते ।न्यूनतम योग्यता नपुगेका तथा पेसासँग असम्बन्धित व्यक्तिलाई अल्ट्रासाउन्ड सेवा प्रवाहको जिम्मेवारी नदिन नेपाल मेडिकल काउन्सिलले सरोकारवालालाई निर्देशन दिएको छ ।

स्वास्थ्य संस्थामा आवश्यक न्यूनतम योग्यताबिना नै रेडियोलोजीअन्तर्गतको अल्ट्रासाउन्ड सेवा प्रवाह भइरहेको गुनासो आएपछि काउन्सिलले शुक्रबार यस्तो निर्णय गरी निर्देशन दिएको हो । प्रचलित ऐन, नियम तथा व्यवस्थापनका विपरीत अनधिकृत रूपमा अल्ट्रासाउन्ड गरेको वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी काउन्सिलले स्वास्थ्य संस्थाहरूलाई दिएको छ । 

काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले अल्ट्रासाउन्डसम्बन्धी ज्ञान भए पनि फरक विधाका व्यक्तिबाट यस्तो सेवा प्रवाह भइरहेको र यसले सोही पेसा अँगालेका व्यक्तिलाई समस्या परेको विषयमा धेरै उजुरी आएकाले यस्तो निर्णय गरिएको बताउनुभयो । मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्रको कुनै पनि विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी काउन्सिलमा विशेषज्ञ दर्ता प्रमाणपत्र प्राप्त चिकित्सकलाई विशेषज्ञ चिकित्सकका रूपमा मान्यता दिने गरिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिकामा पनि एक्सरे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्डलगायतका रेडियोलोजी सेवा तथा सोको रिपोर्टिङ रेडियोलोजिस्टले मात्र गर्न पाउने व्यवस्था छ । 

जीवन बचाउने, हातगोडा बचाउनेलगायतका आकस्मिक अवस्थाबाहेक अल्ट्रासाउन्ड सेवा रेडियोलोजिस्ट आफैँ वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने विषयमा आफूहरू प्रस्ट रहेको पनि काउन्सिलले जनाएको छ । 

काउन्सिलको शुक्रबार बसेको बैठकअनुसार मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको अल्ट्रासाउन्ड तालिम प्राप्त नेपाल मेडिकल काउन्सिलको दर्तावाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा जनरल प्राक्टिस÷इमरजेन्सी मेडिसिन विशेषज्ञले मात्रै अल्ट्रासाउन्डको प्रयोग गर्न पाउनेछन् । यी सबै काम स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिकामा गरिएको व्यवस्थामा आधारित रहेर आफ्नो क्षेत्रमा मात्र प्रयोगमा ल्याउने गरी सञ्चालन गर्नुपर्नेछ । 

अल्ट्रासाउन्ड तालिमको आधिकारिकता तथा प्रमाण आफूहरूले जाँचबुझ गर्ने पनि काउन्सिलले जनाएको छ । साथै सीमित सीप तथा कौशलसहितको अल्ट्रासाउन्ड तालिम प्राप्त गरेका स्वास्थ्यकर्मीले खास प्रयोजनका लागि सरकारले तोकेका स्थानमा तोकिएका विषय तथा अङ्गको मात्र अल्ट्रासाउन्ड गर्नुपर्ने छ । 

त्यस्तो तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारी, निजी तथा संस्थागत सेवा प्रदायक निकायमा आफूले उपचार गर्दै आइरहेको र उपचार गर्नुपर्ने बिरामीको रोग पहिचान, निदान तथा उपचारमा सहयोग पुग्ने उद्देश्यले मात्रै अल्ट्रासाउन्ड गर्न पाउनेछन् तर उनीहरूले व्यावसायिक रिपोर्टिङ गर्न पाउने छैनन् । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।