• १३ साउन २०८१, आइतबार

नवौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

blog

भलिबल प्रतियोगिता हुने मैदानमा रङरोगन गर्दै तथा सम्याउँदै । तस्बिर : अमृत बास्कुने

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज १४ गते । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको भलिबल र तेक्वान्दो प्रतियोगिता हुने म्याग्दीमा तयारी तीव्र पारिएको छ । असोज अन्तिम सातादेखि गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल र तेक्वान्दो प्रतियोगिता म्याग्दीको बेनीमा सञ्चालन हुँदैछ ।

तेक्वान्दो प्रतियोगिता सदरमुकाम बेनी बजारमा रहेको जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुँदैछ । त्यस्तै भलिबल प्रतियोगिता बेनी बजारको खुल्ला मञ्चमा हुँदैछ । दुवै प्रतियोगिता हुने स्थानमा पूर्वाधार निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

राष्ट्रिय खेलकुद अन्तर्गतको महिला भलिबल असोज २७ गते उद्घाटन तथा खेल तालिका सार्वजनिक गरिने जिल्ला खेलकुद विकास समिति म्याग्दीका सदस्य एवम् जिल्ला भलिबल सङ्घ म्याग्दीका महासचिव कुमार किसानले बताउनुभयो । उहाँका अनुसार सात प्रदेश, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ गरी १० टिम सहभागी हुने भलिबल प्रतियोगितालाई दुई पोलमा विभाजन गरेर लिग सिस्टममा खेलाइने छ । 

महिला भलिबलमा गैरआवासीय नेपालीको एनआरएन टिम सहभागी नहुने किसानले जानकारी दिनुभयो । भलिबल प्रतियोगिता सञ्चालन हुने बेनी बजारको खुलामञ्च सम्म्याउने तथा प्याराफिट एवम् मुलगेट रङरोगनको काम अन्तिम चरणमा पुगेको भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । 

प्रतियोगिताको पछिल्लो जानकारी अनुसार तेक्वान्दो तर्फ सात वटा प्रदेश र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं गैरआवासीय नेपाली गरी ११ टिमको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।