काठमाडौँ, चैत ३ गते । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा केभिसी हाउन्ड्सले पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी लिगमा हाउन्ड्सले रोयललाई ७६–६४ ले हरायो । हाउन्ड्सले पहिलो क्वाटरमा २४–१२ को अग्रता बनाएको थियो ।
दोस्रो क्वाटर २३–१६ ले आफ्नो पक्षमा पार्दै रोयलले खेलमा फर्कने सङ्केत गरेको थियो । तर हाउन्ड्सले तेस्रो क्वाटर १७–१५ र चौथो क्वाटर १९–१४ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । हाउन्ड्सका सौरभ श्रेष्ठले सर्वाधिक २१ अङ्क स्कोर गर्नुभयो ।
सौरभ श्रेष्ठ म्यान अफ दी म्याच घोषित हुनुभयो । यस्तै अर्को खेलमा कीर्तिपुरले सोलो बास्केटबललाई ८४–७७ ले हरायो । कीर्तिपुरका अनिल खड्गी म्यान अफ दी म्याच घोषित हुनुभयो ।
नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबिएलमा आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।