• ३ चैत २०८२, मङ्गलबार

यौनकर्मीका सवालमा नीतिगत सुधारको माग गर्दै वरिष्ठ नेता बालेन्द्रलाई पत्र

blog

काठमाडौँ, चैत ४ गते । यौनकर्ममा संलग्न नेपाली महिलाको मानवअधिकार र न्याय सुनिश्चित गर्न माग गर्दै 'आस्था–फेथ' नामक संस्थाले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहलाई खुला पत्र लेखेको छ। विगत दुई दशकदेखि यस क्षेत्रमा कार्यरत संस्थाकी कार्यकारी प्रमुख रिना लामाले उक्त पत्र सार्वजनिक गर्दै यौनकर्मी महिलाले भोग्नुपरेका हिंसा, विभेद र सामाजिक बहिस्कारबारे ध्यानाकर्षण गराउनुभएको हो।

संस्थाले तीन हजार यौनकर्मीका वास्तविक भोगाइमा आधारित भएर निर्माण गरेको चलचित्र ‘लालिमा’ फागुन २९ गतेदेखि प्रदर्शन भइरहेको छ। कार्यकारी प्रमुख लामाका अनुसार यो चलचित्र केवल कथा मात्र नभएर यौनकर्मीको आवाजको सामूहिक दस्ताबेज हो।

पत्रमा उल्लेख भएअनुसार यौनकर्मी महिला दैनिक रूपमा दुर्व्यवहार र आधारभूत मानवअधिकारबाट वञ्चित हुने गरेका छन्। उनीहरूका अनुभव नीतिगत बहसमा विरलै प्रवेश पाउने र प्रवेश पाइहाले पनि अपराध वा नैतिकताको दृष्टिकोणबाट मात्र गलत रूपमा व्याख्या गरिने गुनासो पत्रमा गरिएको छ।

नेता शाहलाई सम्बोधन गरिएको उक्त पत्रमा यौनकर्मी महिलाको मानवअधिकार सुनिश्चित गर्न संवादका लागि निम्तोसमेत दिइएको छ। राज्यले उनीहरूलाई नागरिकका रूपमा सम्मान र सुरक्षा दिनुपर्ने तथा उत्थानका लागि नीतिगत सुधार आवश्यक रहेको पत्रमा औँल्याइएको छ। "राष्ट्र तब मात्र बलियो बन्छ जब उसले आफ्ना अति सीमान्तकृत नागरिकको अधिकार र मर्यादाको संरक्षण गर्छ," पत्रमा उल्लेख छ।