• १६ चैत २०८०, शुक्रबार

हराए ‘लेटर बक्स’

blog

न पत्र खसालिन्छ, न त ताल्चा खोलिन्छ । अस्तित्वको सङ्घर्षमा रहेको वसन्तपुरको पत्रमञ्जुषा ।

काठमाडौँ, असोज १३ गते । उपत्यकाका एकाध स्थानमा मात्र अब पत्रमञ्जुषा (लेटर बक्स) देख्न पाइन्छ । सूचना प्रविधिको विकासले लेटर बक्सलाई विस्थापित गरेको छ । विशेषगरी व्यक्तिगत चिठीपत्र लेटर बक्समा खसाल्ने गरिन्थ्यो । इमेल र सामाजिक सञ्जालले व्यक्तिगत चिठीपत्र पठाउने प्रचलन हराएपछि नयाँ पुस्ताका लागि लेटर बक्स नौलो वस्तु हुन थालिसकेको छ । स्कुले पाठ्यपुस्तकमा तस्बिर मात्र हेर्न पाएका विद्यार्थीलाई प्रत्यक्ष रूपमा लेटर बक्स देखाउन कतिपय विद्यालयले हुलाक कार्यालयमा लिएर जानेसमेत गरेका छन् । 

डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयका प्रमुख लक्ष्मी शर्माले कार्यालयमा दुईवटा लेटर बक्स राखिएको बताउँदै भन्नुभयो, “त्यस बक्समा चिठी खस्दैनन् । त्यसैले ती प्रयोगमै छैनन् ।” कुनै बेला टोलैपिच्छे रहेका लेटर बक्स अचेल काठमाडौँको वसन्तपुर, ललितपुरको पाटनढोका आदि केही स्थानमा मात्र देख्न पाइन्छ । त्यसमा ताल्चा लगाइएको हुन्छ तर पत्र नखसालिने भएकाले ती वर्षाैंदेखि खोलिएका छैनन् ।

हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले इमेलका कारण हुलाकको परम्परागत काम निकै घटिसकेको बताउनुभयो । “जुन बेला परम्परागत काम घट्न थालेको थियो, त्यो बेला नै आधुनिक काम के गर्ने भनेर हुलाक सेवा विभागले सोच्नुपथ्र्याे,” उहाँले भन्नुभयो, “धेरै ढिलो भइसकेको छ । अब यस्तै संरचना र विधिले संस्था सञ्चालन हुन सक्दैन । त्यसैले संस्थागत सुधार गर्दै आधुनिक काम गर्न सकिए मात्र टिक्न सकिन्छ ।”

लेटर बक्स प्रयोगमा नभए पनि पोस्ट बक्स प्रयोगकर्ता घटेका छैनन् । डिल्लीबजारस्थित कार्यालयमा व्यक्ति र संस्थाका १० हजारभन्दा बढी पोस्ट बक्स छन् र अहिले पनि ती बर्सेनि नवीकरण गरिँदै आएको छ । विभागले बुधबार आयोजना गरेको अन्तक्र्रियामा टिकट सङ्कलक तथा नेपाल सरकारका पूर्वसचिव भुवनेशमान प्रधानले गोश्वारा कार्यालयलाई सुन्धाराबाट डिल्लीबजार सार्दा सेवाग्राहीलाई निकै अपायक भएको गुनासो गर्नुभयो । 

नेपाल फेलाटिकल सोसाइटीका अध्यक्ष केदारप्रसाद प्रधानले हुलाक सेवाको परम्परागत चलनलाई कम्प्युटरले विस्थापित गरिदिएको बताउँदै थप्नुभयो, “निजी कुरियर सेवाले तपाईंको चिठी आएको छ लिन आउनूस् भन्ने गरेका छन् । अब हुलाक सेवा विभागले घरघरमै चिठीपत्र पु¥याई निजीसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।”

कोभिड–१९ पछि अन्तर्राष्ट्रिय डाँक ढुवानी बन्द भएको छ । विदेशबाट आएका पार्सल पु¥याउने कार्य गरे पनि नयाँदिल्ली, मुम्बई, कतार र मलेसियाबाहेकमा पार्सल पठाउने व्यवस्था हुन सकेको छैन । विभागका महानिर्देशक घिमिरेले अन्तर्राष्ट्रिय विमान कम्पनीसँग यसबारे छलफल भइरहेको र सम्भवतः दशैँपछि अन्तर्राष्ट्रिय डाँक सेवा नियमित हुने जानकारी दिनुभयो ।

विभागले हाल पासपोर्ट, इम्बोस्ड नम्बर प्लेटलगायत पु-याउने कार्य पनि गर्दै आएको छ । देशका ११ जिल्लामा २४ घण्टाभित्र, १८ जिल्लामा दुई दिनभित्र र बाँकी ४८ जिल्लामा तीन दिनभित्र डाँक पु¥याउने गरिएको छ । समयमा डाँक पुग्न नसक्दा जरिवानासमेत उपलब्ध गराउने गरिएको छ । तुलनात्मक रूपमा निजीभन्दा निकै सस्तो सेवा उपलब्ध गराइँदै आएको छ भने आफ्ना सातवटा ट्रक तथा पाँचवटा साना सवारीसाधनबाट डाँक सामग्री बोक्ने गरिएको छ । उपत्यकाभित्र दैनिक तीनवटा घुम्ती सेवा सञ्चालन गरी सरकारी कार्यालय तथा बैङ्कबाट चिठीपत्र ओसारपसार गर्ने गरिएको छ ।