• ४ वैशाख २०८१, मङ्गलबार

रुपन्देहीमा कर्कट पाता उत्पादन गर्ने उद्योग स्थापना

blog

रुपन्देहीको सियारीमा सञ्चालनमा ल्याइएको कर्कट पाता उद्योग । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, असोज ११ गते । 
रुपन्देहीको सियारीमा कर्कट पाता उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । सियारी–३ बोहरवामा युवा उद्योगी अजय जयसवालले शिवपुजन स्ट्रिप्स प्रालि उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

पश्चिम नेपालमै नौलो प्रविधि र बढी उत्पादन क्षमता भएको कर्कट पाता उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उद्योगको एक कार्यक्रमका बीच सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, सञ्चालक अजय जयसवालले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

शिवपूजन स्ट्रिप्स प्रालिले सिजिआई रुफिङ सिट (कर्कट पाता) र एचस्पान सिटको उत्पादन सुरु गरिएको प्रालिका सञ्चालक अजय जयसवालले जानकारी दिनुभयो ।

सिजिआई रुफिङ सिट (कर्कट पाता) र एचस्पान सिट बनाउने उद्योग पश्चिम नेपालमै पहिलो रहेको प्रालिका सञ्चालक जयसवालले बताउनुभयो । उहाँले यसका साथै निकट भविष्यमा स्टिल टङ्की उत्पादन गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

करिब ३५ करोड लगानीमा सञ्चालनमा आएको उद्योगले २७ जनालाई प्रत्यक्ष रोजगारी दिएको प्रालिका महाप्रबन्धक माइकल जयसवालले जानकारी दिनुभयो ।

उद्योगको प्रति दिन १०/१० टन सिजिआई रुफिङ सिट र एचस्पान सिट उत्पादन गर्ने क्षमता रहेको र यसले पश्चिम नेपालको मागलाई सम्बोधन गर्न सक्ने प्रालिका राष्ट्रिय बजार प्रबन्धक प्रेमबहादुर चौधरीले जानकारी दिनुभयो ।

हालसम्म यस क्षेत्रमा वीरगन्ज र विराटनगर क्षेत्रबाट सिजिआई रुफिङ सिट (कर्कट पाता) र एचस्पान सिट आउने गरेको बताउँदै यहाँको उत्पादनले यस क्षेत्रका उपभोक्ताले सुलभ मूल्यमा खरिद गर्न सक्ने चौधरीको भनाइ छ ।

उद्योगको उद्घाटनका अवसरमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले पश्चिम नेपालमै पहिलो उद्योग स्थापना गरेकोमा खुसी व्यक्त गर्नुभयो । उद्योग सञ्चालनका लागि आवश्यक पर्ने सहयोग गर्न गाउँपालिका तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले उद्योग स्थापनापछि यस क्षेत्रका व्यवसायी तथा उपभोक्ताले सुपथ मूल्यमा सिजिआई रुफिङ सिट र एचस्पान सिट खरिद गर्न सक्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तारा थारु, सियारी गाउँपालिका–३ का वडाध्यक्ष रामचन्द्र कुर्मी, ४ का वडाध्यक्ष श्रीराम यादव अहिर, नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि सन्तराम चौधरी, नेपाली कांग्रेस सियारी गाउँपालिका सभापति गोपाल पाण्डे, रमेश जयसवाललगायतले कार्यक्रममा बोल्नुहुँदै उद्योगले स्थानीयलाई रोजगारी दिनुका साथै सियारीको आर्थिक विकासमा  टेवा पुर्‍याएको बताउनुभएको थियो ।