बुटवल समाचारदाता
बुटवल, असार २९ गते । रुपन्देहीको फर्साटिकर गाउँका रमेश न्यौपाने शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँ श्रमको काम गर्न सक्नुहुन्न । उहाँलाई सानो भए पनि घरमै व्यापार गर्ने धोको थियो । हाल उहाँको त्यो धोको पूरा भएको छ । अपाङ्गता भएकालाई स्वरोजगार बनाउने उद्देश्यले रुपन्देहीमा एक महिनाअघि बिउ पुँजी वितरण गरिएको थियो । उहाँले १० हजार रुपियाँ बिउ पुँजी पाएपछि अहिले घरमै सानो पसल राखेर आत्मनिर्भर बन्ने प्रयासमा लाग्नुभएको छ ।
रमेश मात्रै होइन, सैनामैनाका कमला पौडेलले पनि सरकारले बिउ पुँजी वितरण गरेपछि घरमै सानो पसल खोलेर व्यवसायसँग जोडिएको बताउनुभयो । पैसा नभएकै कारण केही गर्न नसकेको अवस्थामा थप केही रकम आफ्नोतर्फबाट लगानी गरी व्यवसाय गर्न अपाङ्गता भएकालाई सहयोग गरिएको हो ।
अपाङ्गता भएका छ जनालाई प्रतिव्यक्ति १० हजार रुपियाँका दरले बिउ पुँजी वितरण गरिएपछि केही रकम थप गरी घरमै बसेर जोडिन सहयोग पुगेको छ । आर्थिक अभावका कारण केही गर्न नसकेका अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार कार्यक्रममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले बिउ पुँजी वितरण गरिएको हो ।
नेपाल दृष्टिविहीन उत्थान सङ्घले सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आर्थिक सहयोगमा अपाङ्गता भएकालाई उक्त रकम वितरण गरेको हो । अपाङ्गता भएकाले इमानदार भएर काम गर्दै गएमा रकम थप गरी प्रोत्साहन गरिने भएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता भएकालाई कुनै पनि क्षेत्रबाट हौसला र सहयोग नभएको अवस्थामा बिउ पुँजी वितरण गरिएपछि अपाङ्गता भएकामा उत्साह छाएको बताउनुभयो ।
उहाँले स्वास्थ्य उपचार लिनसमेत अरूको सहारा लिनुपर्ने अपाङ्गता भएकालाई सानो सहयोगले स्वास्थ्यमा टेवा पुग्नुका साथै पुनस्र्थापना, सशक्तीकरण र क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो । सैनामैना नगरपालिका–१० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरेले अपाङ्गता भएकालाई आयआर्जनका विभिन्न माध्यममा जोडिन सानो रकमले पनि ठुलो सहयोग गर्ने बताउनुभयो ।
सैनामैना नगरपालिकाले केही महिनाभित्रै सालझन्डीमा कोसेलीघर निर्माण गर्दै छ । अपाङ्गता भएकाले उत्पादन गरेको सामान कोसेलीघरमा राखेर बिक्रीवितरण गरी प्रोत्साहन गरिने भएको छ ।