तिलाचन पाण्डे
तम्घास (गुल्मी), असार २९ गते । पहिरोका कारण कालीगण्डकी तटमार्ग अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका हर्मिचौर–अर्वेनी सडक खण्डको वडा नम्बर २ गरगरेमा सडक माथिबाट ठुलो पहिरो खसेका कारण आइतबार बिहानबाट सडक अवरुद्ध भएको छ ।
सडकमाथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरो पन्छाउनका लागि एक्साभेटरहरु प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । सडक माथिबाट ढुङ्गासहित पहिरो खसेका कारण पहिरो पन्छाउन समय लाग्न सक्ने उहाँले बताउनुभयो ।
करिडोर बिहानैदेखि अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारीहरु चल्न सकेका छैनन् भने यात्रुहरु बिचबाटोमै अलपत्र परेका छन् । उक्त स्थानमा पानी परे लगत्तै पहिरो जाने समस्याले सताउँदै आएको छ ।
वर्षातको समयमा जोखिम बढी हुने भएकाले सतर्कता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खबर गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।