तिलाचन पाण्डे
तम्घास(गुल्मी), असार २९ गते । गुल्मीमा निर्माण व्यवसायीले गुणस्तरहीन संरचना निर्माण गरेको भन्दै पालिकाले भत्काएको छ ।
जिल्लाको सत्यवती गाउँपालिकाले खैरेनी–जोहाङ, जुनियाँ–भार्से सडक खण्डमा निर्माण भएको वालसहितको नालीमा गुणस्तरहीन काम भएकाले वाल भत्काइएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनुभयो ।
निर्माण व्यवसायीको काममा गुणस्तरता नदेखिएकाले एक्साभेटर लगाएर संरचना भत्काउन बाध्य भएको पाण्डेको भनाइ छ । काममा गुणस्तर हुनुपर्ने बताउँदै गुणस्तरहीन काम गर्नेलाई छाड्न नहुने उहाँको तर्क छ ।
लुम्बिनी प्रदेशको स्थानीय पूर्वाधार विकास कार्यालय बुटवल र सानब्रो कन्ट्रक्सन पाल्पा प्रालीबिच उक्त सडक खण्डमा सडक ढलान तीन सय घनमिटर, वालसहितको नाली करिव ६४ घनमिटर निर्माण गर्ने गरी ७५ लाख रुपियाँमा सम्झौता भएको थियो । वैशाखको अन्तिममा सम्झौता भई असार मसान्तमा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
स्थानीय पूर्वाधार विकास कार्यालय बुटवलका सवइन्जिनियर प्रदीप पाण्डेका अनुसार गुणस्तरहीन काम भएको भए पनि कार्यालयलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । संरचना भत्काउनुनै समस्याको समाधान नभएकाले आवेगमा आउनुभन्दा भुक्तानी रोक्नु र सचेत गराउनु नै राम्रो हुने उहाँको तर्क छ ।
निर्माण व्यवसायी सुकमित सनमानेले अध्यक्ष ज्यूले भत्काएको संरचनालाई पुनः बनाउन लागेको बताउनुभयो । अध्यक्ष ज्यूले निर्माणमा फिनिसिङ नआएको भन्दै भत्काइदिएकाले अझै एक दुई दिन भित्रैमा काम सम्पन्न गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ । आफूहरुले अफिसले भने बमोजिमनै काम गर्दै आए पनि अध्यक्ष ज्यूले संरचना भत्काउँदा आफूहरुलाई दुःख लागेको उहाँको प्रतिक्रिया छ ।