राजन रावत
हुम्ला, असार २९ गते । धार्मिक स्थलका रुपमा रहेको शिव कुण्डमा जाने सडक निर्माण गरिएको छ । पर्यटकीय क्षेत्र भएको कारण आन्तरिक तथा बाह्य पर्यटकहरु शिव कुण्डसम्म जान सहज होस भन्नका लागि सडक निर्माण गरिएको हो ।
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको लाच्पा क्षेत्रमा रहेको शिव कुण्ड जाने सडक यस आर्थिक वर्षमा निर्माण सुरु गरिएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । धार्मिक स्थल भएको कारण पर्यटकहरुलाई दर्शन गर्न सडक निर्माण कार्यले सहजता ल्याउने छ । पाँच हजार मिटर उचाईमा यो सडक निर्माण गरिएको छ ।
लाप्चा जाने टाग्या सडकबाटै अर्को सडक निर्माण गरेर शिव कुण्ड जानका लागि सडक निर्माण गरिएको उहाँले बताउनुभयो । गत वर्ष मात्र शिव कुण्ड पत्ता लागेको थियो । लिमीका स्थानीय चार जना युवाहरु चौरी चराउन जाने क्रममा सो शिव कुण्ड पत्ता लागेको थियो । सो कुण्ड चीनको सिमाना नजिक रहेको छ । मानसरावर तालको नजिक शिव कुण्ड रहेको छ ।
यस वर्ष बाह्र किलो मिटर सडक निर्माण गरिएको बताउँदै वडा अध्यक्ष तामाङले अझै पन्द्र किलो मिटर सडक निर्माण गर्न बाँकी रहेको बताउनुभयो । यसका लागि यस आर्थिक वर्षमा पर्यटक बोर्डले नब्बे लाख बजेटको व्यवस्था गरेको थियो । अब बाँकी सडक निर्माणको कामका लागि बजेटको व्यवस्था गर्न चुनौती रहेको बताउदै उहाँले यसमा गाउँपालिकाले सहयोग गर्नु पर्ने बताउनुभयो ।