• ७ वैशाख २०८१, शुक्रबार

भ्रमणमा प्राविधिक, प्रयोगशाला प्रभावित

blog

काठमाडौँ, असोज ९ गते । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत निर्देशकलगायत पाँच जना स्वास्थ्यकर्मी एकैपटक विदेश तथा स्वेदश भ्रमणमा जाँदा सेवाग्राही समस्यामा परेका छन्। 

प्रयोगशालामा रक्त क्यान्सर पत्ता लगाउने सेवा उपलब्ध हुँदाहुँदै एकसाथ त्यत्तिका स्वास्थ्यकर्मीको भ्रमणले बिरामी परीक्षणका लागि निजी प्रयोगशालामा पठाउने गरिएको छ। पाँच जनामध्ये तीन जना विदेश भ्रमणमा हुनुहुन्छ भने दुई जना स्वदेश भ्रमणमा हुनुहुन्छ।

जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा र दसौँ तहमा कार्यरत सहप्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट बालकृष्ण अवाल अमेरिका भ्रमणमा हुनुहुन्छ। यस्तै दसौँ तहमा कार्यरत सिनियर कन्सलटेन्ट प्याथोलोजिस्ट डा. रेखा मानन्धर बेलायत भ्रमणमा हुनुहुन्छ। कन्सलटेन्ट प्याथोलोजिस्ट डा. सुमिधा तिवारी र मेडिकल ल्याब टेक्नोलोजिस्ट सन्तोष सुवेदी विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सञ्चालित तालिममा सहभागी हुन विराटनगर जानुभएको छ। 

उहाँहरू भ्रमणमा भएकाले फ्लुसाइट्रोमेट्री (रक्त क्यान्सर पत्ता लगाउने) सेवा नै बन्द हुन पुगेको छ। गत बिहीबार (लिक्युमिया) रक्त क्यान्सरको शङ्कामा एक वर्षीय बालकको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीले उक्त परीक्षण प्याथोलोजिस्ट नभएकाले निजी प्रयोगशालामा लगेर गर्नू भनेर फर्काइदिए। 

  • प्रयोगशालामा रक्त क्यान्सर पत्ता लगाउने सेवा उपलब्ध हुँदाहुँदै एकसाथ त्यत्तिका स्वास्थ्यकर्मीको भ्रमणले बिरामी परीक्षणका लागि निजी प्रयोगशालामा पठाउने गरिएको छ ।
  • धेरै बालबालिकाको क्यान्सरलगायतका परीक्षण अहिले केन्द्रीय प्रयोगशालामा हुन सकेको छैन ।  

धेरै बालबालिकाको क्यान्सरलगायतका परीक्षण अहिले केन्द्रीय प्रयोगशालामा हुन सकेको छैन। अन्य प्रयोगशालामा जाँदा उक्त परीक्षण गर्न कम्तीमा पनि १५ हजार रुपियाँ लाग्छ। कान्ति बाल अस्पतालले टेकुस्थित प्रयोगशालामा पठाएका बिरामीको रक्त परीक्षणका लागि सो सेवा निःशुल्क छ। बालकका अभिभावकले बालकको परीक्षण टेकुमा नभएर निजी प्रयोगशालामा लगेर गर्नुपरेको गुनासो गर्नुभयो।

हाल प्रयोगशालाकी निमित्त निर्देशकको जिम्मेवारी पाउनुभएकी डा. लिली श्रेष्ठले अधिकारीहरू विदेश जाँदैमा सेवा नरोकिएको बताउँदै प्राप्त नमुना परीक्षण गरेर त्यसको रिपोर्ट आउन समय लाग्छ भनिएको होला भनी तर्क गर्नुभयो।

कान्ति बाल अस्पतालका निर्देशक डा. युवा बसौँलाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमुना परीक्षण नभई फिर्ता आएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले आफूलाई यसबारेमा जानकारी नभएको बताउनुभयो।    

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।