• १३ साउन २०८१, आइतबार

रामेछापको पहिचान बनाउँदै जुनारको जुस

blog

नवराज श्रेष्ठ

रामेछाप, असोज ८ गते ।  रामेछाप सदरमुकाम मन्थलीका व्यवसायी दुर्गाकुमारी श्रेष्ठले मासिक एक लाख रुपियाँभन्दा बढीको जुनारको जुस (स्क्वास) बेच्नुहुन्छ। 

बाहिरबाट रामेछाप आएका र रामेछापबाट काठमाडौँलगायतका ठाउँमा जाँदा जुनारको जुस कोसली लैजान्छन्, पसलमा जुनारको जुस राम्रै बिक्री हुन्छ, मन्थली बजारको देवकोटा चोकमा पसल राख्नुभएका श्रेष्ठले भन्नुभयो। आफ्नो पसलबाट मासिक एक लाख रुपियाँभन्दा बढीको जुनारको जुस बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो। 

श्रेष्ठले जस्तै मन्थलीस्थित देवकोटा चोकमै सञ्चालित रामेछाप डेरीले मासिक ८० हजार रुपियाँभन्दा बढीको जुनारको जुस बिक्री गरिरहेको छ। पसलबाट पनि कोसेलीका रूपमा जुनारको जुस बिक्री हुने गरेको रामेछाप डेरीका सञ्चालक किशोर पौडेलले बताउनुभयो। 

“रामेछापमै फलेका जुनारबाट उत्पादन गरिएको जुनारको जुसको बजारमा राम्रो माग छ, अहिले व्यापार व्यवसाय घटेको अवस्थामा पनि महिनाको ८० हजार रुपियाँभन्दा बढीको जुस बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो। 

श्रेष्ठ र पौडेलको पसलजस्तै मन्थली बजारलगायत रामेछापका बजार क्षेत्रमा सञ्चालित खाद्यान्न, किनारा, डेरी तथा तरकारी पसलमा जुनारको (स्क्वास) जुस आकर्षक रूपमा सजाएर बिक्रीका लागि राखिएको छ। कोसेलीका रूपमा जुनारका जुस बिक्री हुन थालेपछि जुनारको (स्क्वास) जुस रामेछापको पहिचान बनेको छ। 

रामेछाप, भालुखोप, सालु, डडुवा, फुलासी, दिमीपोखरी, दोरम्बा, माकादुम, हिलेदेवी र खनियाँपानी, पुरानागाउँलगायतका स्थानमा जुनार उत्पादन हुने गरेको छ। जुनारको सिजनमा यी ठाउँका जुनार खरिद गर्ने र त्यसबाट जुस उत्पादन गर्ने रामेछापमा तीनवटाभन्दा बढी उद्योग सञ्चालनमा छन्। 

मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि, डिलक्स एग्रो फरेस्ट्री प्रालि र बुद्धलक्ष्मी सर्बत उद्योगले जुनारको (स्क्वास) जुस उत्पादन गरी रामेछापसहित सिन्धुली, दोलखा, ओखलढुङ्गा, हेटौँडा, चितवन, काठमाडौँलगायतका बजारसम्म पुग्ने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालिका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताउनुभयो। श्रेष्ठको उद्योगले वार्षिक एक करोड ५० लाख रुपियाँभन्दा बढीको जुनारको जुस उत्पादन गर्दै आएको छ।