• २१ असार २०८१, शुक्रबार

बागवानी केन्द्रले बेच्यो ७० लाखको सामग्री

blog

फाइल तस्बिर

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज ६ गते । हिमालपारिको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले गत आर्थिक वर्षमा ७० लाख मूल्य बराबरको आम्दानी गरेको छ ।

गत आर्थिक वर्षमा सो केन्द्रले ६९ लाख ९९ हजार ९ सय ८६ रुपियाँको सामग्री बिक्री तथा अन्य आम्दानी गरेको हो । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले कृषि उत्पादन बिक्रीबाट ६९ लाख ३० हजार ९ सय ८६ रुपियाँ आम्दानी गरेको छ । त्यस्तै सरकारी सम्पत्तिको बिक्रीबाट ५० हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट १९ हजार आम्दानी गरेको कार्यालयका प्राविधिक सहायक भीमसेन भण्डारीले बताउनुभयो ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फा तत्कालीन सरकारको तेस्रो पञ्चवर्षीय योजनाकालमा भारतीय सहयोग नियोग एवम् नेपाल सरकारको संयुक्त प्रयासमा वि.सं. २०२३ असोज २ गते अर्चाड कम नर्सरीको रूपमा स्थापना भएको थियो । 

तत्कालीन मुस्ताङको मार्फा गा.वि.स.मा स्थापना भएको केन्द्रले ५४ वर्षको अवधिमा विभागीय संरचनामा परिवर्तन गर्दै आएको थियो । अर्चाड कम नर्सरी थाक मार्फा २०२३ मा स्थापना भएर पाँच वर्षपछि कृषि फार्म थाक मार्फा २०२९ सालमा भएको थियो र सो फार्म १३ वर्षपछि राष्ट्रिय शीतोष्ण बागवानी अनुसन्धान केन्द्र मार्फाको रूपमा २०४३ मा रुपान्तण भएको थियो । 

२०५२ मा बागवानी केन्द्रको रूपमा रूपान्तरण भएको उक्त केन्द्र २०६१ सालमा शीतोष्ण बागवानी विकास केन्द्रको रूपमा रूपान्तरण भएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्राविधिक सहायक भीमसेन भण्डारीले बताउनुभयो । एक सय ७५ रोपनी क्षेत्रफल मार्फामा ओगटेको सो केन्द्रको जोमसोममा एक रोपनी, घाँसमा २० रोपनी जमिन रहेको छ ।