• ११ मंसिर २०८१, मङ्गलबार

‘विश्व आर्थिक मन्दीको खतरा’

blog

काठमाडौँ, असोज ३ गते । विश्व बैङ्कले विश्वव्यापी आर्थिक मन्दी सन्निकट रहेको औँल्याएको छ । 

सन् २०२२ को सुरुवातसँगै विश्वको प्रक्षेपित आर्थिक वृद्धिदरमा ठूलो गिरावट आइरहेको भन्दै विश्व बैङ्कले विश्वव्यापी आर्थिक मन्दीको अवस्था आउने सङ्केत गरिरहेको जनाएको हो । 

‘के विश्व मन्दी अवश्यम्भावी छ ?’ शीर्षकको अध्ययन प्रतिवेदनमा विश्व बैङ्कले विश्वव्यापी तीव्र मुद्रास्फीति र कसिलो वित्तीय अवस्थाअनुसार विश्व आर्थिक मन्दीको जोखिमको मुखमा पुगेको दाबी गरेको छ । ‘विगतमा गरिएका विश्वव्यापी आर्थिक प्रगतिका पूर्वानुमानमा उच्च गिरावट आइरहेका छन् । यो अवस्था भनेको १९७० पछिका सबै मन्दीका पूर्वावस्था हुन् । अमेरिका, चीन र सम्पन्न युरोपेली मुलुकको लक्षित वृद्धिदरमा भइरहेको तीव्र क्षयीकरण हेर्दा विश्वव्यापी मन्दी रोक्न सकिन्छ भन्नेसमेत सङ्केत गर्दैन’ प्रतिवेदनमा भनिएको छ ।

विकासोन्मुख मुलुकमा पनि खतरापूर्ण अवस्था रहेकाले विश्व बैङ्कले आर्थिक मन्दी सन्निकट रहेको आकलन गरेको हो । सन् २०२२ को जनवरीमा विश्वव्यापी आर्थिक वृद्धि यो वर्षका लागि ४.१ प्रतिशत र सन् २०२३ मा ३.३ प्रतिशत रहने प्रक्षेपण थियो तर गत अगस्टमा पूर्वानुमान गर्दा सन् २०२२ मा २.८ प्रतिशत मात्र र २०२३ मा २.३ प्रतिशत मात्र हुने आकलन छ । 

प्रतिवेदनअनुसार ९० प्रतिशत सम्पन्न भनिएका मुलुक र ८० प्रतिशत विकासोन्मुख मुलकको आर्थिक वृद्धि प्रक्षेपणमा तीव्र गिरावट रहेको विश्व बैङ्कले जनाएको छ । बिन्दुगत हिसाबमा पनि सम्पन्न राष्ट्रको समूहमै ठूलो गिरावट देखिन्छ । 

विश्वका समृद्ध तथा मध्यमस्तरका अधिकांश मुलुकले यो वर्षका लागि कसिलो मौद्रिक नीति अनुसरण गरिरहेका छन् । यसको असरस्वरूप केन्द्रीय बैङ्कहरूले नीतिगत ब्याजदरलाई बढाएका छन् । वित्तीय क्षेत्रमा चर्को ब्याजदरले जोखिम पनि बढाउने भएकाले केन्द्रीय बैङ्कलाई अझै चनाखो हुन पनि सुझाइएको छ ।

अहिले विश्वभरका केन्द्रीय बैङ्कले कसिलो मौद्रिक नीतिमार्पmत मुद्रास्फीतिलाई काबुमा राख्न गरेको प्रयास सार्थक नभएमा वित्तीय तनाव अझै बढ्ने र त्यसले सन् २०२३ मा विश्वव्यापी आर्थिक मन्दी निम्तिने प्रतिवेदनले देखाएको छ । विगतका पाँच मन्दीको अवस्था अध्ययन गर्दा यस्तो देखिएको हो ।

‘माग र आपूर्तिको सन्तुलन मिलाउने र मूल्य वृद्धिलाई स्थिर बनाउनेतर्फ केन्द्रीय बैङ्क चनाखो हुनुपर्ने हुन्छ’ प्रतिवेदनमा भनिएको छ । वर्तमान आर्थिक शिथिलताको अवस्थालाई थप श्रम बजार, ऊर्जा बजार र व्यावसायिक सञ्जालले थप चुनौती थपिरहेको भन्दै यी क्षेत्रलाई थप सहज बनाउने विषयमा चनाखो हुन प्रतिवेदनले सुझाएको छ । आपूर्ति शृङ्खला नै अवरुद्ध हुन सक्ने भन्दै विश्व बैङ्कले यसलाई जोगाउन विश्व समुदायले नै थप पारस्परिक सहकार्य गर्नुपर्ने देखिएको बताएको छ ।