• ९ जेठ २०८१, बुधबार

बाढी पहिरो प्रभावितलाई राहत कमी हुन दिन्नौं : मन्त्री रावल

blog

धनगढी, असोज २ गते । सुदूरपश्चिम प्रदेश सरकारले अछामको पहिरो प्रभावित परिवारलाई चाँडै राहत वितरण गर्ने जनाएको छ । तुर्माखाँद, ढकारी गाउँपालिका र कमल बजार नगरपालिकामा गरी पहिरोमा परी अहिलेसम्म २२ जनाको ज्यान जानूका साथै केही बेपत्ता र घाइते भएको घटना अत्यन्त दुःखद रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले बताउनुभयो । 

मृतकका परिवारलाई प्रदेश सरकारले कृयाखर्च २० हजार र राहत स्वरुप प्रतिमृतक बापत् एक–एक लाख रुपियाँ प्रदान गर्ने जानकारी दिनुभयो । यसैगरी घर पूर्ण क्षति भएका परिवारलाई घर निर्माणका लागि ५० हजारको दरले रकम दिने जनाइएको छ । 

पहिरो प्रभावित र कैलाली, कञ्चनपुरका बाढी प्रभावितका लागि राहतको कमी हुन नदिने मन्त्री रावलले बताउनुभयो । प्रदेश सरकार ‘स्टेन्डबाई’ तयारी अवस्थामा रहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘खोज तथा उद्धार कार्यका लागि पनि प्रदेश सरकारले समन्वय गरेर सम्पूर्ण सुरक्षा निकायलाई परिचालन गरेको छ ।’  

खोज र उद्धारका कार्य तदारुकताका साथ भइरहेको उहाँले बताउनुभयो । अप्ठ्यारोमा परेकालाई सुरक्षाकर्मी परिचालन गरेर सुरक्षित स्थानमा ल्याउने कार्य भएको मन्त्री रावलको भनाइ छ । प्रदेशको आपतकालीन कार्य सञ्चालन केन्द्र चौबीस घण्टा सञ्चालनमा रहेको उल्लेख गर्नुहुँदै उद्धार, राहतको कार्यमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।  

‘जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग पनि राहतको पैसा छ’, उहाँले गोरखापत्रसँग भन्नुभयो, ‘यद्यपि, राहतका लागि कहीँकतै कमी भएमा प्रदेश सरकार तत्काल जिल्लालाई पैसा थप्नेछ । पैसाको कारण राहतमा कमी हुनेछैन ।’ 

बाढी, पहिरो प्रकृतिले निम्त्याएको विपत् रहेकाले अहिले परेको विपतसँग सामना गर्नका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको मन्त्री रावलले बताउनुभयो । ‘म विभिन्न सहयोगी संस्थालाई हातेमालोका लागि आह्वान गर्दछु’ उहाँले भन्नुभयो । 

बाढीले समस्या गरेको भजनीका लागि पर्याप्त मोटर बोट नभएकाले खोज, उद्धारमा समस्या भएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले तीन वटै सुरक्षा निकायलाई एक–एक वटा मोटरबोट खरिदका लागि पैसा उपलब्ध गराएको थियो । मोटर बोट खरिद भए पनि आइनपुगेकाले समस्या भएको मन्त्री रावलले बताउनुभयो । 

‘अहिले सशस्त्र प्रहरीसँग मात्रै एउटा मोटरबोट छ’, उहाँले भन्नुभयो, ‘आर्मी र नेपाल प्रहरीले खरिद गरेको मोटरबोट आइपुगेको छैन ।’ पर्याप्त मात्रामा डुङ्गा नभएका कारण उद्धारमा समस्या भएको उहाँको भनाइ छ ।  

Author
अविनाश चौधरी

उहाँ धनगढीबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।