• १७ असार २०८१, सोमबार

विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न झन्डै दुई अर्ब खर्च

blog

काठमाडौँ, असोज २ गते । सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन तथा अलपत्र र बिरामी भएका श्रमिकको उद्धारका लागि दुई अर्बभन्दा बढी रकम खर्च गरेको छ । 

वैदेशिक रोजगार बोर्डले शव ल्याउन, अङ्गभङ्ग भएका बिरामी ल्याउन र अलपत्र श्रमिकलाई स्वदेश ल्याउन वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट दुई अर्ब एक लाख रुपियाँ खर्च गरेको हो । बोर्डले साउदी अरब, कतार संयुक्त अरब इमिरेटस् (यूएई) मलेसिया, कुवेत, ओमन र बहराइनमा अलपत्र ३२ वटा शव नेपाल ल्याउन एक करोड छ लाख रुपियाँ खर्च भएको जनाएको छ । 

बोर्डका कार्यकारी निर्देशक टीकामणि न्यौपानेले यस अवधिमा नेपालीको प्रमुख श्रम गन्तव्य देशमा काम गर्ने क्रममा समस्यामा परेका आफ्ना श्रमिकको सहयोगका लागि सम्बन्धित देशका नेपाली दूतावासमा जनसम्पर्क सहायक कर्मचारी व्यवस्थापन गर्न ७० लाख रुपियाँ पेस्की रकम उपलब्ध गराएको जानकारी दिनुुभयो । 

उहाँका अनुसार सो अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा गम्भीर प्रकृतिको बिरामी भएर वा कोभिड–१९ र अन्य कारण अलपत्र परेका ७८३ जना श्रमिकको उद्धार गरिएको छ । यसरी उद्धार गर्ने क्रममा हवाई टिकट, क्वारेन्टाइन, स्थानीय यातायात एवं पीसीआर परीक्षणलगायतका कार्यका लागि २० लाख रुपियाँ खर्च भएको छ । 

सो अवधिमा वैदेशिक रोजगारीको क्रममा फौजदारी अभियोग लागेका तीन जना नेपाली श्रमिकको कानुनी प्रतिरक्षाका लागि मलेसियास्थित नेपाली दूतावासको सिफारिसमा आधारमा आठ लाख ९० हजार ६३० रुपियाँ पठाएको बोर्डले जनाएको छ । यसैगरी संयुक्त अरब इमिरेट्स (यूएई)मा दुई जना श्रमिकको कानुनी प्रतिरक्षाका लागि नौ लाख ३० हजार रुपियाँ परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित दूतावासमा पठाइएको जनाइएको छ । 

त्यसैगरी नै बोर्डले ओमनस्थित नेपाली दूतावासको अनुरोधका आधारमा सुरक्षित गृहको सञ्चालन प्रयोजनका लागि पाँच लाख रुपियाँ पेस्की उपलब्ध गराइएको जनाएको छ । बोर्डका अनुसार मलेसिया सरकारको सामाजिक सुरक्षासम्बन्धी कार्यक्रममा आबद्ध भएका नेपाली श्रमिकमध्ये कार्यस्थल दुर्घटना र कार्य समयभित्र मृत्यु भएका १७ जना श्रमिक तथा तिनका परिवारलाई मलेसियाको सामाजिक सुरक्षा सङ्गठन (सोक्सो)बाट नियमअनुसारको क्षतिपूर्ति÷आर्थिक सहायता रकम उपलब्ध गराउन सहजीकरण गरिएको थियो ।