काठमाडौं, असोज १ गते । गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो हुनुभएको छ । विश्वराम छात्र र अन्जु छात्रामा पहिलो हुनुभएको छ ।
शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा भएको दौडमा विश्वले १७ मिनेट ३९.०९ सेकेन्डमा पूरा गर्नुभयो । जनज्योति माविका अजय विक दोस्रो र अरनिको माविका सोनाम शेर्पा तेस्रो हुनुभयो ।
अन्जुले निर्धारित दूरी २२ मिनेट १६.३६ सेकेन्डमा पूरा गर्नुभयो । पञ्चकन्या माविका सोनु घतानी दोस्रो र सरिता रम्तेल तेस्रो हुनुभयो । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
दशरथ रंगशालाबाट सुरु भएको दौड विभिन्न स्थान हुँदै दशरथ रंगशालामै आएर सकिएको थियो । दौडमा ८० विद्यालयमा दुई सय १३ खेलाडीले भाग लिएका थिए । विजेतालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङ, कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
सुनमाया सम्मानित
सोही अवसरमा हालै फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौड प्रतियोगितामा दोस्रो हुन सफल सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मान पत्रसहित एक लाख एक हजार एक सय रुपियाँ पुरस्कारसहित सम्मान गरिएको थियो । यस्तै एक वर्षमा चार वटा म्याराथन दौडनु भएका शम्भुप्रसाद दाहाललाई पनि शान्ति निकुञ्ज सम्मान पत्रबाट सम्मान गरिएको थियो ।