सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, जेठ २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मेलम्चीका बाढीपीडितको सुरक्षाका लागि तटबन्ध निर्माणमा १६ करोड रुपियाँ सरकारले प्रदान गर्ने बताउनुभएको छ ।
मन्त्री खड्काले बाढीपहिरो निरीक्षणपछि स्थानीय अगुवासँग कुरा गर्दै सो जानकारी दिनुभएको हो । मन्त्री खड्काले बाढीपहिरो प्रभावित क्षेत्र मेलम्ची, सिपाघाट, भीमटार, बाहुनेपाटी, हेलम्बु, पाँचपोखरीलगायतका स्थानमा वैशाख २९ गते स्थलगत अवलोकन गर्नुभएको थियो । अवलोकनपछि राजधानी फर्केर मेलम्ची बाढीग्रस्त क्षेत्रको बस्ती संरक्षणका लागि सरकारले सो रकम प्रदान गर्न लागेको मन्त्री खड्काका सहयोगी विष्णु खड्काले बताउनुभएको हो ।
उक्त रकम बराबरको ठेक्का खोल्न मन्त्री खड्काले मातहतका निकायलाई निर्देशन दिइसकेको सहयोगी खड्काले बताउनुभएको छ । स्थलगत अवलोकनमा पनि मन्त्री खड्काले बाढीग्रस्त क्षेत्र मेलम्ची, हेलम्बुलगायत स्थानको वर्षाअघि नै दिगो संरक्षणमा सरकारले तत्काल बजेट दिएर संरक्षण गर्ने बताउनुभएको छ । २०७८ असार १ गतेको भेम्राथाङ पहिरो बाढीमा परिणत भएर आएपछि हेलम्बु, मेलम्ची, बाहुनीपाटी, सिपाघाटलगायतका बजार र बस्ती बगाएको थियो ।
मेलम्ची बाढीले किउलबजार, तिम्बुबजार, चनौटेबजार, ग्याल्थुम, तालामाराङलगायतका एक सयभन्दा बढी घर बगाएको थियो । मेलम्ची बाढीले सखाप पारेपछि तत्कालीन सरकारका प्रधानमन्त्री, मन्त्री, सांसदले पटक पटक बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेर बस्ती संरक्षणका लागि उचित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि ठोस योजना अघि सारिएको थिएन ।
मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिकाले तत्काल बजेट उपलब्ध गराएर थप जनधनको क्षति हुनबाट बचाउन मन्त्री खड्कालाई आग्रह गरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । स्थानीय तहको आग्रहमा मन्त्री खड्का सकारात्मक हुँदै बजेट उपलब्ध गराउन लाग्नुभएको प्रमुख तामाङको भनाइ छ । मन्त्री खड्कासहित राज्यमन्त्री खुमबहादुर गर्वुजा, सिँचाइ सचिव सरिता दवाडी, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, उपमहानिर्देशक सन्तोष कैनीलगायत मेलम्ची, हेलम्बु क्षेत्रको स्थलगत अवलोकनमा पुग्नुभएको थियो ।