• २ जेठ २०८२, शुक्रबार

भिरालो बस्तीका स्थानीयवासीलाई डरैडरको बास

blog

बाजुरा समाचारदाता

बाजुरा, जेठ २ गते  । बाजुरामा पाखो तथा भिरालो बस्तीमा बसोवास गर्दै आएका यहाँका स्थानीयवासी बर्खाको समय त्रासमा बस्न बाध्य छन् । बर्खाको समय पाखो तथा भिरालो गाउँबस्तीको तल र माथिबाट थोरै पानी परे पनि सधैँ पहिरो जाने हुनाले यहाँका स्थानीयवासी बर्खाको डरैडरले घरमै बस्छौँ, बुढीगङ्गा नगरपालिका –१  की कल्धरी नेपालीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “भिरालो ठाउँमा बसोबास छ । घरको तलदेखि पहिलो गएको छ । पानी परेका बेलामा त्यो पहिरो बग्ने गर्छ । हिउँदमा घरमा बास बस्न केही डर हुँदैन । अब बर्खा लागेपछि भने यहाँ सुत्न निकै डर लाग्छ ।” केही वर्ष पहिला गाउँको माथिबाट आएको पहिरोमा पुरेर तीन जनाको ज्यान गएको थियो । त्यो पहिरो अहिले पनि बर्खा लागेपछि आउने गर्छ । भिरालो ठाउँमा बस्ती छ । कति बेला पहिरो आउने हो थाहा हुँदैन । हिउँदमा आनन्दसँग बसोबास भए पनि बर्खाको समय सधैँ यसरी चिन्तैचिन्तामा रात काट्नु परेको नेपालीले बताउनुभयो ।

यहाँका नौ वटै पालिकाका अधिकांश गाउँबस्ती पाखो तथा भिरालो ठाउँमा रहेका छन् । बर्खाको समय अविरल वर्षा हुँदा यी बस्तीमा पहिरो आउने सम्भावना सधँै रहन्छ । त्यसैले यहाँका धेरै बासिन्दा बर्खाको समयमा घर छोडेर चौरमा गएर त्रिपालमुनि बास बस्ने गर्छन् । गत साउन २६ गते पनि हिमाली गाउँपालिकाको–३, बौडीमा दिउँसै पहिरोमा परेर ४१ पशुचौपाया मरेका थिए भने त्यहाँ गोठालो गएका चार जनासमेत घाइते भएका थिए ।

पहिरोका कारण मानवीय क्षति नभए पनि हिमाली, गौमूल, त्रिवेणी र खप्तड छेडेदहलगायतका स्थानीय तहमा धान, कोदोलगायतका बाली र घरका छानामा लाखौँ रुपियाँको क्षति भएको थियो । बाजुरामा १३५ भन्दा बढी गाउँबस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । बस्ती स्थानान्तरणका लागि जिल्लाको नौ वटै स्थानीय तहबाट आएका सबै सिफारिस गृह मन्त्रालयमा पठाएको र उताबाट अहिलेसम्म केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

भूकम्प तथा बाढीपहिरोबाट घरबासविहीन भएकाको टहरा निर्माणका लागि मात्र रकम आयो तर बस्ती स्थानान्तरण गर्नेबारेमा केही खबर नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडितका लागि तीन करोड ६८ लाख २५ हजार रुपियाँ आएको र त्यो रकम उनीहरूको खातामा राखिदिने गरेर स्थानीय तहको खातामा पठाएको छ ।” यो रकमले बाढीपहिरो र भूकम्पपीडितको अस्थायी टहरा निर्माणका लागि केही सहज भए पनि बस्ती स्थानान्तरण गर्नका लागि भने ठुलो रकम आवश्यक परेको प्रमुख जिल्ला पाध्याले बताउनुभयो ।