• २ जेठ २०८२, शुक्रबार

लालपुर्जा पाउने आसमा सुकुम्वासी

blog

२०४८ साल देखि कैलाशनगरमा बस्दै आउनुभएका भुवन घिमिरेको पुर्जा पाउने आस ३५ वर्ष पछि पुरा हुँदै । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी

बबई(बर्दिया), जेठ २ गते । बर्दिया गुलरिया नगरपालिका ४ कैलाशनगरका भुवन घिमिरेले लालपुर्जा पाउने आसमा ३५ वर्ष बिताउनुभयो । २०४८ सालदेखि जग्गाधनी पुर्जा पाउने आसमा बस्नु भएका ६२ वर्षीय घिमिरेको लालपुर्जा पाउने सपना अझै पूरा भएको छैन ।

घिमिरे बसेको सर्जु नदी किनारमा अहिले पनि थुप्रै घरहरू छन् । अहिले पनि कैलाशनगर गाउँमा पुर्जा पाउने आसमा थुप्रै भूमिहिन बसोवास गरिरहनुभएको छ । बिहीबार बिहान गुलरिया नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र विभिन्न दलका प्रतिनिधिहरूको टोली घिमिरेको आँगनमा पुग्दा घिमिरे बाख्रालाई घास हाल्दै हुनुहुन्थ्यो । घरमा सबैलाई देखेर छक्क पर्नु भयो । टोलीमा भूमिहिन, दलित, भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवास गर्नेहरूलाई सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगका पदाधिकारी पनि सामेल हुनुहन्थ्यो । 

कैलाशनगरमा बसोवास गर्दे आएका भुमिहिनले पुर्जा प्राप्त गर्न सक्नु भएको थिएन भने उहाँहरूले २०४८ साल देखि पटक पटक खुलेका आयोगमा निवेदन दर्ता गराउँदै आउनु भएको थियो तर कुनै पनि आयोगले अहिले सम्म उहाँहरूलाई लालपुर्जा दिन सकेन । यस पटक गुलरिया नगरपालिकाको पहलमा उहाँहरूको आवेदन अनुसार जग्गा वितरणका लागि उहाँहरू बसैकै स्थानमा जग्गा नापजाँच गर्न टोली पुग्दा घिमिरेको खुसीको सिमानै थिएन । 

सर्यु नदीको किनारमा २०४८ साल देखि बस्दै आउनु भएका भुवन घिमिरेले २०८२ सालमा आफु बसेको ठाउँमा नै जग्गा नापजाँच गर्न टोली घरमा पुग्दा आफुलाई अब बल्ल लालपुर्जा पाइन्छ कि भन्ने आस जागेको बताउनुभयो । धेरै वर्ष भयो पुर्जा पाएका थिएनौ अब पुर्जा पाइन्छ होला, उहाँले भन्नुभयो । विपन्न परिवारको बस्ती भएको त्यस गाउँमा अहिले पनि ३४ घर परिवार बस्दै आउनुभएको छ । अब पुर्जा पाउने आस जाग्यो कैलाशनगर बस्ने अर्का स्थानीय सन्तराम दमाईले बताउनुभयो । 

भुमिहिन, दलित, भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवास गर्नेले २०७७ र २०८० मा राष्ट्रिय भूमि आयोगले सुचना प्रकाशन गरे पछि लगत सङ्कलन गर्दा गुलरिया नगरपालिकामा मात्र पाँच हजार ३२६ जनाले आवेदन दिएको र निश्सा प्राप्त गरेकालाई बसोवास गरेकै स्थानमा जग्गा उपलब्ध गराउँन नापनक्सा सुरु गरिएको भूमि शाखा गुलरियाका प्रमुख केशव खनालले बताउँनु भयो । धेरै वर्षदेखि आयोग गठन हुने र आवेदन दिने क्रम जारी भएको भए पनि यस वर्ष नगरपालिकाले भूमिहिनलाई जग्गा दिन नाप जाँच सुरु गर्नु पनि सकारात्मक रहेको र यसलाई विवाद नगरी समाधान गर्नु पर्ने उपप्रमुख सावित्रा गौतमले बताउनुभयो ।  

यसैबिच भुमिहिन, दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवास गर्नेहरूलाई जग्गा दिन ८ स्थानिय तहमा काम सुरु भएको भूमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरुणप्रकाश सिंह राठौरले बताउनुभयो ।