• २५ जेठ २०८२, आइतबार

सेवा प्रवाहलाई प्रभावकारी बनाउन सार्वजनिक सुनुवाइ

blog

सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागी। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २५ गते। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। स्थानीय जनता तथा सेवाग्राहीको सहभागितामा गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाई आयोजना गरेको हो।

गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय जनता तथा सेवाग्राहीले उठाएका सवाल तथा प्रश्नको गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बू, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बे लगायतले जवाफ दिनुभएको छ। यस्तै जिम्मेवार व्यक्ति तथा निकायप्रति लक्षित सवालको सम्बन्धित पक्षबाट जवाफ साथै सहजीकरण भएको छ।

कार्यक्रमका सहभागीले भने गाउँपालिकाले प्रवाह गरेको सेवा तथा क्रियाकलापमाथि सवालै सवाल उठाएका छन्। गाउँपालिका तथा वडाले बनाएको योजनाहरू चाहेजस्तो कार्यान्वयन नभएको, कार्यान्वयन भए पनि प्रभावकारी नदेखिएको, कतिपय आवश्यक कार्यक्रम तथा योजना कार्यान्वयन नगरी परिवर्तन र रकमान्तर गरिएकोजस्ता सवाल स्थानीय जनताले उठाएका छन्।

स्थानीय जनता तथा सेवाग्राहीले उठाएका सबैखाले सवाल तथा जिज्ञासाको गाउँपालिकाका पदाधिकारीसहित सेवा प्रदायक पक्षबाट सहजरूपमा जवाफ र समाधान दिने प्रयत्न गरिएको छ। कतिपय विषयमा सेवाग्राहीले उठाएका सवालअनुसार सुधार गरेर लैजाने पनि गाउँपालिकाले प्रतिबद्धता जनाएको छ। 

सार्वजनिक सुनुवाइमा शिक्षक, अन्य कर्मचारी लगायतका स्थानीय सेवाग्राहीको सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण भने नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले गरेको थियो।