राजु लामिछाने
रुकुमपश्चिम, जेठ २ गते । रुकुमपश्चिममा ट्रयाक खुलेको लामो समयसम्म अलपत्र अवस्थामा रहेको एक पालिका केन्द्रभित्रको सडकखण्ड कालोपत्रे भएको छ । आठबिसकोट नगरपालिकाको केन्द्र राडीबजारका विभिन्न सडक खण्ड कालोपत्रे गरिएको हो ।
यसअघि हिलाम्य र धुलाम्य अवस्थमा रहेको नगरपालिका केन्द्रको चार किलोमिटर सडक कालोपत्रे र आरसिसी गरिएको छ । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतको सहयोगमा वडा नम्बर ९ स्थित पालिका केन्द्रको सडक कालोपत्रे हुनुका साथै व्यवस्थित बसपार्क समेत निर्माण भएको हो ।
कार्यालयका प्रमुख कमल दर्लामी मगरका अनुसार सघन सहरी विकास कार्यक्रम अन्तर्गत आठबिसकोटमा एकीकृत सहरी पूर्वाधार विकासको काम भएको हो । उहाँले उक्त कामका लागि गोर्खा मङ्गलदीप जेभी सुविधानगर काठमाडौँले ठेक्का पाएको र तोकिएकै सयममा काम सम्पन्न भएको जानकारी दिनुभयो ।
उक्त निर्माण कम्पनीसँग २० करोड ५९ लाख ४६ हजार १४ रुपियाँमा काम सम्पन्न गर्ने गरी २०८० वैशाख १४ गते सम्झौता भएको थियो । अहिले राडीबजारको तल्लो बजार, सहिद स्मृति स्कुल सडक, क्याम्पस रोड सडक खण्डको नापी कार्यालय र पसाने, सहिद गेटसम्मको सडक कालोपत्रे भएको छ । चार किलोमिटरमध्ये तीन हजार तीन सय मिटर कालोपत्रे र सात सय मिटर आरसिसी गरिएको छ ।
यसैगरी नगरपालिकाका केन्द्रदेखि भेरी काेरिडोर जोड्ने भेरी नदीको पुलसम्मको सडकमा कालोपत्रेको काम सकिएको छ । सडकसँगै नाला निर्माणको काम समेत पूरा गरिएको छ । यसका साथै राडीबजारको ठाटी खोलानजिक बसपार्क निर्माण काम सम्पन्न भएको छ । बसपार्क, काउन्टर र शौचालय निर्माणको काम पूरा भएको कार्यालयले जानकारी दिएको छ ।
कालोपत्रेको काम भइरहेको बेला सम्पन्न अन्य कामको भुक्तानी नपाएपछि काम रोकिएको थियो । समयमै भुक्तानी भएको भए ६ महिना अघि नै काम सम्पन्न भइसक्ने निर्माण कम्पनीले जनाएको छ । सडकको ट्रयाक खुलेको लामो समयसम्म सडक अलपत्र हुँदा नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको थियो । पालिका केन्द्रको सडक धुलाम्य र हिलाम्य हुँदा स्थानीयले दुःख पाउँदै आएका थिए ।
अन्य कामको जिम्मा पाएका सबै निर्माण कम्पनीले समयमै काम गरेमा र नगरपालिकाले माग गरेको बजेट प्राप्त भएमा अबको दुई वर्षभित्र नगरपालिकाका सबै सडकहरू कालोपत्रे हुने उहाँको भनाइ छ । नगर प्रमुख केसीले जनता अपेक्षा र जनप्रतिनिधिहरूले गरेका प्रतिबद्धताहरू पूरा हुन योजनाअनुसार नै काम भइरहेको बताउनुभयो ।