• १० मंसिर २०८१, सोमबार

मुद्रा : पुरातात्त्विक प्रमाण

blog

प्रतिमा रञ्जित 

सङ्घीय राजधानी काठमाडौँको छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालय नेपालको मौद्रिक इतिहास झल्काउने सङ्ग्रहालय हो । यो नेपालको मुद्रासम्बन्धी एक मात्र सङ्ग्रहालय हो । सभ्यता, संस्कृति र इतिहासको विषयमा मुद्राले प्रमाणिक काम गर्छ । यसैले पुरातात्त्विक एवं ऐतिहासिक महìवका मुद्राहरूको सङ्कलन, संरक्षण एवं संवद्र्धन गरेर सङ्ग्रहालयमा राखिन्छ । 

सङ्ग्रहालय सभ्यताको दस्तावेज एवं संस्कृतिको आत्मा हो । यसले एकातिर अतीत र वर्तमानलाई जोड्ने सांस्कृतिक भूमिका निर्वाह गर्दछ भने अर्कातिर मानव सभ्यताको विकासक्रमलाई संरक्षण, संवद्र्धन, अभिलेखन, वर्गीकरण एवं प्रदर्शनको काम गर्छ । साथै अवलोकनकर्तालाई मनोरञ्जन एवं जानकारी पनि दिन्छ । सारमा यो प्राज्ञिक एवं प्राविधिक विधाको संयोजन हो । सङ्ग्रहालयले सङ्कलन गर्ने वस्तुको प्रकृतिअनुरूप सङ्ग्रहालय फरक–फरक प्रकृतिको हुन्छ । त्यसअनुरूप मुद्रा सङ्ग्रहालयलाई पनि एउटा विशिष्टीकृत सङ्ग्रहालयका रूपमा लिइन्छ ।

इतिहास र संस्कृतिको अध्ययनका लागि मुद्रा महìवपूर्ण पुराताìिवक प्रमाण हो । इतिहासका घटनाक्रम र बाझिएका विषयलाई स्पष्ट रूपमा प्रमाणित गर्ने काममा मुद्राको महìवपूर्ण भूमिका हुन्छ । मुद्राले एकातिर तात्कालीन आर्थिक इतिहास, व्यापार–वाणिज्य, कर प्रणाली, विविध मौद्रिक एकाइ, विनिमय प्रणाली र वैदेशिक सम्बन्धको विषयमा जानकारी दिन्छ । अर्कातिर यसले लिपि, भाषा, लेखनकला, साहित्य, संस्कृति, सामाजिक आस्था, मूल्य–मान्यता, सांस्कृतिक वैभवता, विम्ब र प्रतीकको बोधार्थ गरेको हुन्छ । त्यसकारण मुद्रा देशको आर्थिक विकास, सार्वभौमसत्ता र स्वाधीनताको महत्वपूर्ण आधार हो । 

समाजशास्त्रीय–मानवशास्त्रीय दृष्टिकोणबाट हेर्दा पनि मुद्राको महìवपूर्ण स्थान देखिन्छ । धार्मिक साहित्य तथा सांस्कृतिक अनुष्ठानमा मुद्रा महत्ताबारे परिचर्चा गरिएको पाइन्छ । सामाजिक जनविश्वास, गीत–सङ्गीत, साहित्य–लोकसाहित्यमा पनि मुद्राको सम्बन्ध जोडिएको देखिन्छ । धार्मिक साहित्यमा धनको देवता कुवेर, धनकी देवी लक्ष्मी आदिको परिकल्पना गरिएबाट मुद्रा महत्ताबारे स्पष्ट हुन्छ । हिन्दु धर्मको चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्षमध्ये अर्थलाई दोस्रो स्थानमा राखेर यसको महत्तालाई उजागर गरिएको छ । 

नेपालमा सङ्ग्रहालयको झन्डै ८२–८३ वर्षको इतिहास छ । सङ्ग्रहालयको इतिहासमा राष्ट्रिय मुद्रा सङ्ग्रहालयको महत्वपूर्ण स्थान छ । वि.सं. २०१९ पुस १ गते राष्ट्रिय मुद्रा सङ्ग्रहालयको स्थापना भएको इतिहास सोही स्थानमा रहेको ताम्रपत्रमा उल्लेख गरिएको छ । 

राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा भारतीय र नेपाली सभ्यताको मौद्रिक इतिहास झल्काउने मुद्रा सङ्कलन गरिएका छन् । विशेषतः भारतीय प्राचीन आहत मुद्रादेखि सुंग–कुषाण राजाले जारी गरेका सिक्का सङ्कलन एवं प्रदर्शन यहाँ गरिएका छन् । नेपालको मौद्रिक इतिहासमा भने लिच्छविकालको विशेष महìव छ । लिच्छविकालीन मानाङ्क मुद्रादेखि शाहकालसम्मका मुद्राको व्यवस्थित भण्डारण पनि यहाँ गरिएको छ । विशेषतः लिच्छवि, मल्ल र शाहकालका विभिन्न राजाले प्रसारण गरेका टक, मुद्रा नै यस सङ्ग्रहालयका महत्वपूर्ण पुरातात्त्विक वस्तु हुन् । स्वदेशी मुद्राको साथसाथै विदेशी मुद्रा पनि यहाँ सङ्कलन एवं प्रदर्शन गरिएका छन् । त्यस्तै छाला र माटोबाट बनेका सांस्कृतिक महìवका दुर्लभ मुद्राले यहाँको साख बढाएको छ । 

पुराताìिवक उत्खननबाट प्राप्त विभिन्न मुद्राले नेपालको पुरातात्त्विक एवं मौद्रिक इतिहासलाई उजागर गरेको छ । सांस्कृतिक महत्व बोकेका कौडी, औँठी, गरगहना, माला पनि यस सङ्ग्रहालयमा सङ्ग्रहित छन् । विश्वको सबैभन्दा सानो जावा मुद्रा पुरातात्त्विक एवं ऐतिहासिक महत्वको मुद्रा हो; जुन यहाँ प्रदर्शन गरिएको छ । महेन्द्र मल्ल (महेन्द्र मल्ली) र दोलखाको राजा जयइन्द्रसिंह देवका मुद्रा मल्लकालका मुद्रा हुन् । पूर्वमल्लकालको मानिने शिवका र दाम मुद्रा पनि यहाँ सङ्कलित छन् । 

नेपालमा वि.सं. २००२ मा त्रिभुवनको पालादेखि कागजी नोट प्रयोगमा आयो । राजा त्रिभुवनले जारी गरेका विभिन्न एकाइका कागजी मुद्रा पनि यहाँ छन् । लिच्छवि, मल्ल र शाहकालमा जारी भएका सिक्काबाट तात्कालीन मौद्रिक एकाइका बारेमा पनि जानकारी हुन्छ । राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा गणतन्त्र–लोकतन्त्रकालका सिक्का हालसम्म सङ्कलन गरिएको छैन तर छिटै नै सङ्कलन एवं प्रदर्शन गर्ने योजना छ । समग्रमा नेपालको मौद्रिक इतिहासका विभिन्न पक्षलाई उजागर, संरक्षण, संवद्र्धन एवं प्रदर्शन गरिरहेको राष्ट्रिय मुद्रा सङ्ग्रहालयको ऐतिहासिक महìव छ ।