• ९ मंसिर २०८१, आइतबार

दशैँलक्षित विशेष बजार अनुगमन

blog

काठमाडौँ, असोज १ गते ।  सरकारले आउँदो आइतबार असोज २ गतेदेखि काठमाडौँ उपत्यकामा दशैँलक्षित बजार अनुगमन गर्ने तयारी गरेको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा विज्ञसहितको ११ वटा टोलीले दशैँलक्षित बजार अनुगमन गर्ने तयारी गरेको हो । 

विभागका अनुसार चाडपर्वमा बढी सामान माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्नेजस्ता समस्या नहुन् भनेर सरकारले अनुगमनलाई प्राथमिकतामा राखेको हो । 

विभागका निर्देशक होमनाथ भट्टराईले यस पटक बजार अनुगमनबाट प्रत्यक्ष रूपमा आमउपभोक्ताले महसुस गर्न पाउने गरी सम्बन्धित विषयविज्ञसमेत राखेर फरक तरिकाले अनुगमन गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मासु पसल अनुगमन गर्दा पशुसेवा विभागका पशु चिकित्सकसहितको टोली रहन्छ । खाद्यवस्तुको अनुगमन गर्दा खाद्यविज्ञ, औषधिको अनुगमन गर्दा मेडिकल चिकित्सक, माछा बजारको अनुगमन गर्दा माछाविज्ञ, तरकारी तथा फलफूलको अनुगमन गर्दा कृषिविज्ञसहितको टोली रहन्छ, त्यसको प्रभाव छिटो देखिन्छ ।” 

विभागका निर्देशक भट्टराईले यस पटकको अनुगमन विशेष भनिए पनि यो वर्ष पनि विगतकै वर्षको निरन्तरता हो । यस प्रकारको अनुगमन गर्दा जुन कानुन प्रभावकारी हुन्छ, त्यही कानुनअनुसार ती व्यवसायी फर्मलाई कारबाही पनि हुने निर्देशक भट्टराईको भनाइ छ ।  

उपभोक्ता संरक्षण विभागका निर्देशक भट्टराईले नेपाली हिन्दु महिलाको पर्व तीजदेखि नै सामानको माग र कारोबार पनि बढी हुने भएकाले मूल्य, सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरून् भनेर दैनिक चार/पाँचवटा समूहले अनुगमन गर्दै आएको जानकारी दिनुभयो । 

विभागका अनुसार अहिले दैनिक चार/पाँचवटा टोलीले अनुगमन गर्ने गरेकामा अब दैनिक ११ वटा टोलीले छुट्टाछुट्टै ठाउँमा गएर प्रत्येकले कम्तीमा पाँचदेखि सातवटा व्यवसायी प्रतिष्ठानको अनुगमन गर्नेछ । विभागका अनुसार चाडपर्वलक्षित बजार अनुगमनका लागि ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

अनुगमन प्रभावकारी बनाउन निर्देशन

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय तथा सरोकार तथा समन्वय समितिले चाडपर्वका बेलामा बजारलाई चुस्तदुरुस्त राख्न सम्बन्धित सरोकारवाला मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिका सभापति दिलकुमारी राउल थापा (पार्वती)को सभापतित्वमा शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो । चाडपर्व नजिकिएसँगै सीमित व्यापारीले बजारमा अत्यावश्कीय वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गरेकाले यसको नियन्त्रण गर्न समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको हो । बैठकले चाडपर्व नजिकिँदै गर्दा अझै मूल्य बढ्ने हुँदा यो अवस्था आउन नदिई अहिलेबाट नै बजार अनुगमनलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन पनि दिएको छ । समितिका सभापति थापाले चाडपर्व सुरु हुनुअघिदेखि नै उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धिमा नियन्त्रण गर्न वाणिज्य मन्त्रालयलाई निर्देशन दिनुभयो ।