• ६ जेठ २०८१, आइतबार

मेहनतले मात्र सफल भइन्छ

blog

काठमाडौँ, भदौ २८ गते  कलाकारिता तथा अभिनय यस्तो क्षेत्र हो जहाँ मेहनतले मात्र सफल हुन सकिन्छ भन्ने विश्वास राख्नुहुन्छ कलाकार तथा नृत्याङ्गना रन्जु श्रेष्ठ। चर्यादेखि कथक नृत्यमा उत्कृष्ट बन्नुभएका श्रेष्ठले विभिन्न चलचित्रदेखि टेलिशृङ्खलामा आफ्नो अभिनयको जादू प्रस्तुत गरिसक्नुभएको छ। यतिमा मात्र श्रेष्ठको परिचय सीमित छैन। लोकप्रिय ‘मुमिन कार्नुन’मा प्रमुख पात्र मुमिनमा स्वर (भ्वाइस ओभर) दिने पनि उहाँ नै हुनुहुन्छ। 

थुप्रै प्रतिभाका धनी उहाँ आफ्नो कठोर मेहनतका कारण नै यस स्थानसम्म पुगेको बताउनुहुन्छ। मेहनत गर्दागर्दै पनि “कहिलेकाहीँ भाग्यले साथ दिँदैन तर मलाई त्यस्तो भएन। मैलै सही समयमा सही अवसर पाएँ,” उहाँ भन्नुहुन्छ। श्रेष्ठको परिवारमा कोही पनि कलाकारितामा हुनुहुन्न तर श्रेष्ठकी आमाको इच्छा आफ्नो छोरीलाई नृत्यमा पोख्त बनाउने थियो। त्यसैले पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययरत छँदादेखि नै श्रेष्ठ हिँडेरै नृत्य सिक्न लगनखेल पुग्ने गर्नुहुन्थ्यो। “१० देखि ४ बजेसम्म विद्यालयमा हुन्थेँ। त्यसपछि विद्यालयकै पोसाकमा नृत्य सिक्न जान्थेँ,” भावुक हुँदै श्रेष्ठले आफ्ना सङ्घर्षका दिन सम्झनुभयो।

“कृष्णभक्त महर्जन मेरो पहिलो गुरु हुनुहुन्छ। मेरो पहिलो नृत्य ‘सधैँ रोइरहन्छ...’ बोलको गीतमा रहेको छ। भाग्यले म नै प्रमुख भएर नृत्य गर्ने अवसर जु¥यो। मैले नृत्यको कक्षा लिँदै गर्दा नै सो टेलिसिरियलमा नृत्य गर्ने मौका प्राप्त भएको हो। नृत्य गर्दै जाँदा अभिनयमा पनि मौका प्राप्त हुँदै गयो,” श्रेष्ठ भन्नुहुन्छ।  नृत्य र अभिनयमा मात्र होइन श्रेष्ठ अन्य विधामा पनि उत्तिकै पारङ्गत हुनुहुन्छ। 

उहाँले नेपाली मौलिक परम्परागत चर्या नृत्य स्नातक कार्यक्रममा प्रस्तुति दिनुको साथै प्रशिक्षण पनि दिइरहनुभएको छ। भिमा, कथैकथा नामक टेलिशृङ्खलामा पनि अभिनय गरिसक्नुभएको उहाँले गणेशमान सिंहको जीवनीमा आधारित रहेको चलचित्रमा मङ्गलादेवी पात्रमा अभिनय गर्नुभएको छ। श्रेष्ठले अन्तर्राष्ट्रियस्तरसम्म चर्या नृत्य मात्र होइन कुमारी, वज्रयोगिनी, भैरवकाली, पञ्चबुद्धलगायतका नृत्य पनि प्रस्तुत गरिसक्नुभएको छ। उहाँले सन् २००५ मा जापानमा भएको वल्र्ड एक्पोमा नेपालको प्रतिनिधित्व गरेर छ महिनासम्म चर्या नृत्यलाई प्रस्तुत गर्नुभएको थियो। 

आफ्नो आमाको प्रेरणाबाट यस क्षेत्रमा लाग्नुभएकी श्रेष्ठ हाल राष्ट्रिय रूपमा कला संस्कृति प्रविधिलगायत विभिन्न क्षेत्रमा योगदान विशिष्ट व्यक्तित्वहरूको जीवनीका रूपमा प्रस्तुत गरिने कार्यक्रममा व्यस्त हुनुहुन्छ। “यस्ता प्रतिष्ठित व्यक्तिहरूको जीवनपथका घटना धेरैका निम्ति प्रेरणाको स्रोत बन्न सक्नेछ,” उहाँको भनाइ छ। 

यसैगरी उहाँले ऐतिहासिक र धार्मिक अनि सांस्कृतिक महत्त्वको वृत्तचित्र निर्माणमा काम गरिरहेको जानकारी पनि दिनुभयो। “वज्रयान बौद्ध धर्मअनुसार योगिनी निकै महत्त्वपूर्ण स्थान रहेको छ। यसमा विशेष गरेर साँखुको गुँ–विहारमा रहेकोे वज्रयोगिनीलाई केन्द्रित गरिएको छ,” उहाँ भन्नुहुन्छ।