• ११ मंसिर २०८१, मङ्गलबार

बक्सिङ खेलाडी सुस्मालाई शिरीष फाउन्डेसनको सहयोग

blog

सम्झौता पत्र आदान प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ २६ गते । बक्सिङकी उदीयमान खेलाडी सुस्मा तामाङलाई शिरीष फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापना भएको फाउन्डेसनले सुस्माको खेलमा सहयोग गर्न आर्थिक र खेल सामग्री सहयोग गरेको हो ।

सहयोग प्रायोजनसम्बन्धी सम्झौतापत्रमा आइतबार बक्सर सुस्मा र फाउन्डेसनकी कोषाध्यक्ष एवं शिरीषकी आमा सपना गुरुङले हस्ताक्षर गर्नुभयो । फाउन्डेसनले खेलाडीद्वारा खेलाडीका लागि सहयोग कार्यक्रम अन्तर्गत फाउन्डेसनले सुस्मालाई सहयोग गरेको हो ।

सम्झौता अनुसार फाउन्डेसनले सुस्मालाई मासिक १५ हजार रुपियाँ र  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा लगाउने खेल पोशाक उपलब्ध गराउनेछ । यसैगरी सुस्माले गरेको उत्कृष्ट प्रदर्शनको आधारमा छुट्टै पुरस्कार पनि प्रदान गरिने उल्लेख छ ।

सम्झौता एक वर्षका लागि गरिएको हो । सहयोगको सम्झौता पछि सुस्माले सहयोगले खेल खेल्न थप प्रेरणा मिलेको भन्दै फाउन्डेसनलाई धन्यवाद दिनुभयो । फाउन्डेसनले यसअघि उशु खेलाडी निमा घर्तीमगरलाई पनि सहयोग गरेको थियो ।