• २१ असार २०८१, शुक्रबार

ठूलोलुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन हुँदै

blog

हस्तान्तरण कार्यक्रममा सहभागीहरु । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, भदौ २४ गते । गुल्मीको सत्यवती गाउँपालिका ठूलोलुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन गरिनेभएको छ । कफी प्रशोधन उद्योग सञ्चालनका लागि मिश्रित कफी उत्पादक कृषक समुह सत्यवति गाउँपालिका ३ लाई कफी प्रशोधन उद्योग तथा मेसिनरी औजार हस्तान्तरण गरिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई गुल्मीले मिश्रित कफी उत्पादक कृषक समुहलाई २३ लाख ५३ हजार तीन सय १६ रुपियाँको कफी प्रशोधन उद्योग निर्माण गरेको छ । कार्यालयको २० लाख र समुहको १५ प्रतिशत लगानीमा भवन निर्माण गरिएको छ । 

परियोजनाले कफी समुहलाई ६ लाख ९० हजार पर्ने एक थान हलर मेसिन प्रदान गरेको छ । जसमा परियोजनाको पाँच लाख ८३ हजार पाँच सय र समुहको एक लाख ३५ हजार खर्च भएको छ । त्यस्तै परियोजनाको ५३ हजार पाँच सय ५० र समुहको नांै हजार चार सय ५० गरेर ६३ हजारमा खरिद कफी पल्पर मेसिन समुहलाई हस्तान्तरण गरिएको छ । 

प्लाष्टिक पाउच सिलप्याक पनि समुहलाई प्रदान गरिएको छ । परियोजनाको तर्फबाट ४० हजार आठ सय र समुहको सात हजार दुई सय रुपियाँको लगानीमा मेसिन खरिद गरिएको छ । ठूलोलुम्पेकमा २०५८ बाट कफी खेतिको सुरुवात भएको थियो । 

व्यक्तिबिशेषले उत्पादन गर्दैआएको कफी अहिले समुहमार्फत व्यावसायिक हुन थालेको छ ।  समुहले तीन वटा कफीका नर्सरी निर्माण गरेका छन् । गाउँमा करिव डेढ सय रोपनी क्षेत्रफलमा १५ हजार कफीखेती रहेको छ । केहीले उत्पादन दिन थालेका छन् । केही बोट हुर्किदैगरेको अगुवा कृषक नरमाया रानाले बताउनुभयो । 

जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले कफीबाटै ठूलोलुम्पेकको पहिचान गराउनुपर्नेमा जोड दिनुभयो । उत्पादन दृष्टिकोणले गाह्रो बिषय भए पनि महिला र समुदायमा देखिएको आकर्षणले कफी विकास र समृद्धिको सम्भावना ठूलोलुम्पेकमा बढी रहेको खत्रीले दाबी गर्नुभयो । 

कृषक समुह र समुदायसँग उर्जासँगै कृषिका योजना भए बजेटमा कुनै समस्या नभएको प्रतिक्रिया दिनुभयो । स्थानीय तह, प्रदेश र संघीय कार्यालयले एकै प्रकृतिका कार्यक्रम गर्दा डुब्लिकेशनको सम्भावना हुने भएकाले समन्वय गरेर काम गर्न खत्रीले सुझाव दिनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई गुल्मीका प्रमुख श्रीकृष्ण न्यौपानेले ठूलोलुम्पेक मौसम र वातावरणीय हिसाबले कफीका लागि उपयुक्त भएकाले ढुक्क भएर कफीको क्षेत्रमा काम गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।