• ११ कात्तिक २०८२, मङ्गलबार

अनलाइनमा वित्तीय सेवा

blog

वित्तीय सेवा लाइनबाट अनलाइन हुँदा हुने सहजता समयको विकाससँगसँगै हिजोका विधि, प्रक्रिया, मूल्यमान्यता समय सुहाउँदा मानिँदैनन् । कुनै समयमा मान्य विषय समय क्रममा आइपुग्दा त्यति सहज नहुन सक्छन् । यस्तो क्रम वित्तीय प्रणालीमा आएको परिवर्तनले राम्रै कोल्टो फेरेको आभास गर्न सकिन्छ । वित्तीय सेवा दिनका लागि वित्तीय संस्थाले आफ्नो कारोबारको दायरा बढाउन ठुलो धनराशि खर्च गरेर भौतिक रूपमा उपस्थिति जनाउँदै देशका मुख्य सहरदेखि गाउँसम्म शाखा विस्तार, काउन्टर सञ्चालन, ब्रान्चलेस सेवा उपलब्ध गराउँदै आइरहेका थिए । नियामक निकायले बैङ्क तथा वित्तीय संस्थालाई गाउँ गाउँमा शाखा खोल्न विभिन्न किसिमका मापदण्डमा छुट दिएर प्रेरित गरेको अवस्था आजसम्म छ । यसैको परिणामस्वरूप देशका सात प्रदेश ७७ जिल्ला तथा ७५३ स्थानीय तहमा वाणिज्य बैङ्कका शाखा सञ्चालनमा हुन सक्यो । नागरिक वित्तीय पहुँचबाट वञ्चित हुनु हुँदैन भन्ने मूल ध्येयका साथ वित्तीय संस्था र तिनका शाखा विस्तारमा जोड दिइएको अवस्था छ ।

अर्थतन्त्रको आकार अवस्था बजारको आकार, ग्राहकको सचेतना, व्यवसायको माग, नागरिकको आर्थिक अवस्थाले बैङ्क तथा वित्तीय संस्थाको आवश्यकता कति हो भन्ने विषय निक्र्योल गर्छ । मागबमोजिम लाइसेन्स वितरणको कामले आवश्यकताभन्दा धेरै सङ्ख्यामा वित्तीय संस्था खुल्न पुगे । बढ्दो प्रतिस्पर्धा, सीमित बजार, वित्तीय साक्षरताको अल्पज्ञान जस्ता विषयले जुन गतिमा सङ्ख्यात्मकसँगै शाखा विस्तार भए त्यही गतिमा सङ्ख्या कम गर्नुपर्ने बाध्यात्मक परिस्थिति बन्यो र बैङ्क तथा वित्तीय संस्था साँघुरिन पुगे ।

मर्जर तथा एक्विजिसनको क्रम तीव्र रूपमा चल्दै थियो । यही बिचमा कोभिड–१९ को महामारी फैलियो । केही समय दैनिक कारोबारसमेत रोकिने अवस्था रहन गयो भने व्यापार व्यवसाय सहज रूपमा चलायमान हुन सकेन परिणामस्वरूप अर्थतन्त्रमा केही शिथिलताको वातावरण रहन गयो । कति व्यवसाय बन्द भए र रोजगारीमा समेत त्यसको प्रभाव पर्न गयो । विश्वभर फैलिएको महामारीले आयातमा निर्भर अर्थतन्त्र रहेको मुलुक भएका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि भयो । व्यावसायिक निरन्तरताका लागि केही छुट तथा थप कर्जासमेत वितरण गरियो । पहिले गरिएका लगानीसमेत अनुत्पादक क्षेत्रमा गएको भन्ने विषय विभिन्न अनुसन्धान तथा लेखा परीक्षणका प्रतिवेदनमा आइरहेका थिए । थप भएका कर्जा रकम उचित प्रयोजनभन्दा अन्य क्षेत्रमा गयो । यो त भयो बैङ्क तथा वित्तीय संस्थाको लगानीको अवस्था, यो सँगै कर्जा कारोबार गर्न होस् वा अन्य किसिमका कारोबार गर्न होस् धेरै हदसम्म ग्राहकहरू शाखासम्म पुग्नुपर्ने अवस्था कोभिडको समयभन्दा अघि थियो । कोभिड वित्तीय कारोबारका क्षेत्रमा एउटा कोसेढङ्गा साबित बन्न पुग्यो र कारोबारहरू लाइनबाट अनलाइनमा रूपान्तरण भएका छन् । यो परिवेशले एक नयाँ आयामको सुरुवात भयो जहाँ वित्तीय कारोबार गर्न शाखा खोलिरहन पर्छ त भन्ने प्रश्नसमेत उब्जिएको छ । घर, अफिस तथा जहाँसुकै बसेर रकम ट्रान्सफर गर्न सकिने भइसकेपछि बैङ्क तथा वित्तीय संस्थाका सजिसजाउ गरी ठुलो रकम खर्चिएर बनाएका कार्यालयमा निकै कम सेवाग्राही पुग्ने गरेको अवस्था छ । कोभिड–१९ भन्दा अगाडि ७० प्रतिशत कारोबार म्यानुअल र ३० प्रतिशत कारोबार डिजिटल प्रविधिबाट हुने गरेकोमा कोभिडपछि ९० प्रतिशत कारोबार डिजिटल प्रविधिबाट हुने र १० प्रतिशत कारोबार म्यानुअल कारोबारबाट हुने गरेको तथ्याङ्कले देखाउँछ । विगतका दिनमा लाइनमा बसेर लिइरहेको सेवा आज अहिले अनलाइनबाट पूरा भएको अवस्था छ । प्रविधिले मारेको फड्कोलाई सकारात्मक उपलब्धि मान्दै गर्दा अब यसको संस्थागत विकासमा जोड दिनु जरुरी छ । हरेक परिवर्तनले अवसर र चुनौतीसँगै लिएर आएको हुन्छ । डिजिटल विकाससँगै निम्तिएको जोखिमको मात्रा कम गर्न डिजिटल उपकारण, साइबर सुरक्षा, दक्ष जनशक्ति उत्पादनमा लगानी, प्रविधिको द्रुतत्तर विकाससँगै स्तरोन्नति गर्न तत्पर रहनुपर्ने चुनौती जल्दाबल्दा समस्याका रूपमा अगाडि आइरहेका छन् । अबको समयमा साइबर सुरक्षा जल्दोबल्दो समस्याका रूपमा रहने छ । तसर्थ यो पक्षलाई आत्मसात् गर्न बैङ्क तथा वित्तीय संस्था तयार रहनुपर्ने हुन्छ ।

यसका लागि विगतमा खोलिएका शाखा कार्यालय र भर्ना गरिएका कर्मचारी दुवै कटौती गर्ने समय एकातिर आउँदै छ भने अर्कोतिर ठुला ठुला संस्था मर्जर तथा एक्विजिसन हुने समस्याले समेत यो काममा थप जटिलता थपेको छ । यसका अतिरिक्त सहरका एउटै भवनमा रहेका भिन्न वित्तीय संस्थाका शाखाहरू सञ्चालन भएका स्थान लामो समयदेखि भाडामा लाग्न सकिरहेका छैनन् । हिजोका दिनमा मनग्गे भाडादर असुली गरिरहेका घरवाला भाडामा स्थानहरू सस्तोमा नदिने र महँगोमा व्यवसाय गर्नेले नलिने हुँदा महत्वपूर्ण स्थानमा रहेका घरका फ्ल्याट खाली रहन गएका छन् । जसले गर्दा सरकारको राजस्व सङ्कलनमा समेत नकारात्मक असर पर्ने देखिन्छ ।

अर्को पक्ष वित्तीय संस्था सामान्यतया मर्जर तथा एक्विजिसनमा जाने भनेको समस्या तथा अप्ठ्यारो परिस्थिति सिर्जना भएपछि मात्र देखिन्छ । खर्च बढी, सम्पत्तिको गुणस्तरमा ह्रास, निक्षेप अभाव, जोखिम बढीलगायतका विषय जुन मर्जर तथा एक्विजिसन भइसक्दा पनि त्यस्ता जोखिमसँगै जाने हुँदा नाफा अपेक्षा गरेबमोजिम हुन सक्दैन । नाफा कम भएपछि वित्तीय संस्थाले तिर्ने करमा कमी आई करबापतको राजस्वमा पनि कमी आउँछ । कर्मचारी फरक संस्था तथा वातावरणबाट आउने हुनाले एकै स्थानमा काम गर्दा धेरै पक्षहरूले प्रभाव पार्ने हुँदा उत्पादकत्वमा वृद्धि हुन सक्दैन । परिणामतः लागत बढ्न सक्छ भने ओभर स्टाफिङको भारसमेत पर्न सक्छ । 

वित्तीय संस्थामा विपत्ले ठुलो परिवर्तन ल्याएको मान्न सकिन्छ । परिवर्तन सहज विषय होइन तर पनि परिवर्तनसँगै आउने चुनौतीको सामना र असरलाई अनुकूल बनाउँदै जानुको विकल्प नभएको कारण वित्तीय संस्थाले यसतर्फ अगाडि बढिसकेको अवस्थामा यसलाई संस्थागत रूपमा अगाडि बढाउन सक्नु पर्छ । प्रविधिको प्रयोगले हुने सहजता दीर्घकालका लागि फाइदाजनक हुने मानिन्छ । लाइनबाट अनलाइनमा रूपान्तरित हुँदा भएका सबल पक्ष सुविधाजनक तथा सेवा प्रवाहमा छिटोछरितो, कम लागत, सुरक्षित कारोबार, रेकर्ड राख्न सहज, सर्वत्र सेवाको पहुँच, सेवामा विविधता जस्ता पक्ष रहेको पाइन्छ । 

हिजोदेखि सञ्चालनमा रहेका लाइन प्रणालीका सेवाहरूका आआफ्नै सहजता असहजता रहे पनि समयको मागसँगै विकसित भएको अनलाइन प्रणाली तुलनात्मक रूपमा समय, लागत, पहुँच र भौतिक स्थान जस्ता पक्षमा बढी प्रभावकारी मानिन्छ । प्रविधिले मारेको फड्कोलाई वित्तीय क्षेत्रका लागि कोसेढुङ्गा साबित हुन सक्नु पर्छ । यसलाई अझ सहज र प्रभावकारी बनाउँदै जोखिम व्यवस्थापनको माध्यमबाट अगाडि बढ्न थप प्रयास आवश्यक छ । 

जसरी शाखाको पहुँच ग्रामीण तथा दुर्गम स्थानसम्म पु¥याइएको थियो, त्यसरी नै अनलाइन प्रणालीमा सबै वर्ग समुदायको पहुँच पु¥याउनका लागि डिजिटल साक्षरतामा जोड दिन जरुरी छ । डिजिटल साक्षरताको अभावले जोखिम बढ्ने हुँदा सरोकारवाला निकायले यसतर्फ ध्यान पु¥याउँदै डिजिटल प्रविधिको उच्चतम प्रयोगतर्फ लाग्नुको विकल्प देखिँदैन ।