• १२ पुस २०८१, शुक्रबार

रुसी सेनाको कारबाहीमा सिरियामा एक सय बिस विद्रोही मारिए

blog

दमासकस,  भदौ २४ गते । रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् ।

सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा  सो समूहका लडाकाहरूले हिंसा मच्चाइरहेका छन् ।

तिनै समूहका लडाकाहरूलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको हो । रुसी सेनाको सो हवाई कारबाहीका क्रममा परेर कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् भने अरू केही घाइते भएका छन् ।

सिरियाली इदलिब नगरको नजिक सो समूहको तालिम केन्द्र सञ्चालनमा रहेको सूचनाका आधारमा सो सैन्य हमला भएको थियो । बिहीबार सो क्षेत्रमा रुसी लडाकु विमानले १४ वटा आक्रमण गरेका थिए । त्यस क्रममा यहाँ रहेको सो तालिम केन्द्रका सामग्रीहरू पनि ध्वस्त भएका थिए भने सो तालिम केन्द्रमा आश्रय लिएर बसेका लडाकाहरू मारिएका थिए । रासस/सिन्ह्वा