• ११ मंसिर २०८१, मङ्गलबार

गुल्मीमा चिनिएका नामहरू नै सिफारिस

blog

तिलाचन पाण्डे

तम्घास, भदौ २२ गते । प्रतिनिधिसभाको निर्वाचनको लागि गुल्मीमा विभिन्न राजनीतिक पार्टीहरूले पुरानै नेताहरूलाई सिफारिस गरेका छन् । केही नयाँ सिफारिस भए पनि टिकट पाउने सम्भावना भने न्यून रहेको बताइएको छ । गुल्मीमा नेकपा (एमाले) बाट क्षेत्र नम्बर दुईमा सांसद गोकर्णराज विष्ट र क्षेत्र नम्बर एकबाट उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवाली सिफारिस हुनुभएको छ । 

क्षेत्र नम्बर दुईमा सांसद विष्टसँगै एमाले नेता राजेन्द्र अर्याल र शेषकान्त गौतम पनि सिफारिस हुनुभएको छ । नेकपा एमालेका जिल्ला सचिव गणेश श्रीपालीले केन्द्रीय राजनीतिमा राम्रो खारिएकाले विष्ट र ज्ञवालीलाई पुनः सिफारिस गरेको दाबी गर्नुभयो । 

त्यस्तै, नेपाली काँग्रेसबाट चन्द्र भण्डारी, योगराज कँडेल र पारिश्वर ढकाल, चन्द्रबहादुर केसी, डा. दामोदर भुसाल र त्रैलोक्यप्रताप सेन सिफारिस हुनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आज बुधबारसम्म उम्मेदवार सिफारिस गरेका छैनन् । गठबन्धनबाट एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्री क्षेत्र नम्बर २ मा उम्मेदवार हुने सम्भावना छ । 

यता, माओवादी केन्द्र, गुल्मीका संयोजक बुद्धि जिशीका अनुसार सो पार्टीले यो पटक देशभर नयाँ अनुहारका युवालाई प्राथमिकता दिएको छ ।